सिलगढी : सिलगढी मेट्रोपलिटनको प्रधान नगर थाना पुलिसले सादा पोशाकमा बिनुप महतोको नेतृत्वमा गत राति एउटा अभियान चलाएर धेरै संख्यामा अवैध नशालु ट्याबलेट सहित तीनजनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा आशिघर थाना इलाकाका कल्याण दे (62), अब्दुल गफर (47) अनि एनजेपी इलाकाको बिक्की राय (21) सामेल छन्। आज तीनैजना आरोपीलाई सिलगढी अदालतमा एडीपीएस एक्ट मामिला अन्तर्गत पेश गरियो। प्राप्त जानकारी अनुसार पक्रा पर्नेहरूमध्ये कल्याण र अब्दुल नशालु पदार्थको धन्दामा पुराना अपराधी हुन् भने बिक्की यो धन्दामा नयाँ व्यक्ति हुन्। यी तीनैजना नशालु याबा ट्याबलेट लिएर सम्भावत बिक्री गर्न गत राति सिलगढी जंक्सन पुगेका थिए। प्रधान नगर थानाको क्राइम विंगका पुलिसले सादा पोशाकमा सन्देहको आधारमा तिनीहरूको छानबिन गर्दा दुईवटा प्लास्टिकको प्याकेटमा मोठ 4800 वटा अवैध नशालु ट्याबलेट उद्धार गरे। पुलिसले घटनाको विस्तृत छानबिन गरेको बताइएको छ। सूत्र अनुसार विशेष गरेर नशालु याबा ट्याबलेट बङ्ग्लादेशबाट तस्करको माध्यमद्वारा सिलगढीमा ल्याइन्छ अनि यसपछि शहरमा नशालु पदार्थ बिक्री गर्नेहरू समक्ष पुग्दछ।