नवजात शिशुलाई अपहरण गरेको आरोपमा सासु-ससुरा सहित दम्पति पक्राउ

सिलगढी (निसं): नवजात शिशुलाई अपहरण गरेको आरोपमा पुलिसले सासु-ससुरा सहित दम्पतिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा नौन दास (60), बेला दास (55), रजत विश्वास (34) र सोमा विश्वास (28) सामेल छन्। प्राप्त जानकारी अनुसार गत आइतबार विशाखा दास नाम गरेकी एउटी महिलाले आफ्नो नवजात शिशु कन्यालाई अपहरण गरेको भन्दै मतिगढा थानामा सासु-ससुराविरुद्ध अभियोग दर्ता गरेकी थिइन्। आरोप अनुसार गत 7 दिसम्बरमा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा उक्त महिलाले जुम्ल्यहा छोरीलाई जन्म दिएकी थिइन्। तर तिनको सासु-ससुराले ती दुई नानीहरूमध्ये एकजनाको मृत्यु भएको तिनलाई बताइन्। तिनी अस्पतालबाट घर फर्किआएपछि छिमेकीहरूमार्फत् सासु-ससुराले तिनको एउटा शिशु कन्यालाई अपहरण गरेर राखेको थाहा पाएपछि तिनीहरूलाई सोध्दा केही बताएनन्। यसपछि उक्त महिलाले गत आइतबार यसबारे थानामा लिखित अभियोग दर्ता गरिन्। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले विशाखा दासका सासु-ससुरालाई पक्राउ गरेर सोधखोज गर्दा तिनीहरूले उक्त शिशु कावाखाली निवासी रजत विश्वास र सोमा विश्वास नाम गरेको दम्पतिलाई दिएको कुरा स्वीकारे। उक्त नवजात शिशु हाल सिलगढी जिल्ला अस्पतालको आईसीयुमा भर्ना रहेको पुलिसले थाहा पाएपछि गैर कानुनी रूपमा नवजात शिशुलाई राखेको आरोपमा उक्त दम्पतिलाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *