नक्सलबारी : सिलगढी महकुमा परिषद्ले सहरको सुरक्षा व्यवस्थामाथि विशेष ध्यान दिइरहेको छ। यसै क्रममा दार्जिलिङ जिल्ला पुलिस अधीक्षक र महकुमा परिषदका सभाधिपतिले आज नक्सलबारी थाना प्राङ्गणमा सीसीटीभी क्यामाराको उद्घाटन गरे। सिलगढी महकुमाको नक्सलबारी, विधाननगर, खोरीबारी, बाघडुग्रा, घोषपुकुर, मतिगढा हाट इलाकामा 56 वटा सीसीटीभी क्यामारा जडान गरियो भने आज यसको विधिवत् उद्घाटन गरियो। यस सम्बन्धमा जिल्ला पुलिस सुपर प्रवीण प्रकाशले भने, सुरक्षालाई ध्यानमा राखेर सीसीटीभी क्यामारा जडान गरिएको हो। नक्सलबारी बजार इलाकामा 8 वटा, सडकमा 8 वटा सीसीटीभी क्यामारा जडान गरिएको छ। सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले भने, सिलगढी महकुमा परिषदको तर्फबाट 8 लाख रुपियाँको लागतमा सिलगढी महकुमाको विभिन्न ठाउँमा सीसीटीभी क्यामारा जडान गरिएको हो।
