खोरीबारी: एसएसबी 41औँ बटालियनको पानीट्याङ्की बीओपी-ले नेपालबाट अवैध रूपमा भारत आइरहेका एकजना विदेशी त्रिभुवन लिम्बु (49) अनि तिनलाई सहयोग गरेको आरोपमा अर्को व्यक्ति रञ्जन सुब्बा (36) लाई पनि हिरासतमा लिएको छ। जानकारी अनुसार एसएसबी कर्मीहरूद्वारा पानीट्याङ्की सीमामा नेपालबाट आइरहेका दुईजना व्यक्तिलाई रोकेर छानबिन गर्दै परिचय पत्र माग्दा त्रिभुवन लिम्बुले नेपाली पासपोर्ट देखाए भने रञ्जन सुब्बाले भारतीय भोटर कार्ड देखाए। यसपछि विदेशी त्रिभुवन लिम्बुको ब्याग छानबिन गर्दा त्यहाँ तिनको यूके अफ् ग्रेट ब्रिटेन नर्दन आयरल्याण्डको पासपोर्ट, हङकङको स्थायी प्रमाण पत्र तथा ड्राइभिङ लाइसेन्स, एउटा आई फोन, 36 हजार भारतीय मुद्रासहित दुई लाख नेपाली रूपियाँ भेट्टाए। यसवाहेक, रञ्जन सुब्बाको ब्यागबाट भारतीय आधार कार्ड, भारतीय पेन कार्ड तथा भारतीय ड्राइभिङ लाइसेन्स उद्धार गरेको बताइएको छ। अवैध रूपमा भारत आएको तथा केही देशको नागरिकता राखेको आरोपमा त्रिभुवन लिम्बुलाई अनि तिनलाई सहयोग गरेको आरोपमा रञ्जन सुब्बालाई हिरासतमा लिएर एसएसबीद्वारा आवश्यक कार्वाही गरेपछि दुवै आरोपीलाई खोरीबारी थानालाई सुम्पिदिए। यसपछि खोरीबारी थानामा पुलिसले मामिला दर्ता गरेर दुवै जनालाई आज सिलगढी न्यायालयमा पेश गरियो।
