सिलगढी (निसं): ट्रलीमा हालेर विदेशी रम-रक्सी तस्करी गरिरहेको गोप्य सूचना पाएर एनजेपी थानाको पुलिसले सादा पोशाकमा तस्करी गर्न अगावै धेरै मात्रामा विदेशी रम-रक्सी जफत गरेको छ। उक्त घटनामा नेपालका दुईजना अवकाशप्राप्त सेनाको जवान सहित तीन जनालाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा तीनबत्ती मोड़ संलग्न इलाकामा एउटा वाहनलाई रोकेर छानबिन गर्दा वाहनमा राखेको दुईवटा ट्रलीबाट 225 बोतल विदेशी रम-रक्सी फेला पारे। यसपछि मिन बहादुर थापा, सावधान सिंह थापा र श्याम मण्डललाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मिन बहादुर थापा र सावधान सिंह थापा नेपालका निवासी हुन्। यी दुवै अवकाशप्राप्त सेनाका जवान रहेको बताइएको छ। यसैगरी, श्याम मण्डल वाहन चालक हुन् भने तिनीहरूले यी अवैध विदेशी रम-रक्सी असमबाट नेपालमा लगिरहेको थियो। तिनीहरूले धेरै समय अघिदेखि नै यस प्रकारले रम-रक्सीको तस्करी गरिरहेका थिए। आज पक्रा परेका सबै आरोपीहरूलाई जलपाइगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।