सिलगढी : मतिगढाको शिवमन्दिर मेडिकल रेलगेट संलग्न इलाकामा एउटा निर्माणाधीन भवनको गेट अघिबाट सुरक्षाकर्मीको शव उद्धार भएको छ। मृतक व्यक्ति अलिपुरद्वार निवासी तापस चक्रवर्तीको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार तापस चक्रवर्तीले गत एक महिना अघिदेखि उक्त निर्माणाधीन भवनमा सुरक्षाकर्मीको रूपमा काम गर्दै आइरहेका थिए। हृदयघात भएर तिनको मृत्यु भएको हुनसक्ने स्थानीय मानिसहरूले आशंका गरेका छन्। स्थानीय मानिसहरूले सबैभन्दा पहिला तापसको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर मतिगढा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।