मिरिक : प्राणी सम्पद विकास विभाग, मिरिक खण्डको आयोजना अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रायोजनमा हिजोदेखि दुई दिवसीय प्राणी सम्पद मेला मिरिक महकुमाको निरपानी खेला मैदानमा सम्पन्न भयो। मेलाको पहिलो दिन प्रमुख अतिथि मिरिक महकुमा शासक अनाबिल दत्तले रिबन काटेर मेलाको उदघाटन गरे। समारोहका अध्यक्षता स्थानीय शिक्षक हरिप्रसाद निरौलाले गरेका थिए भने अन्य अतिथिहरू मिरिक खण्ड बिकास अधिकारी बिप्लव कुमार रोय, डा. कावेरी तामाङ, स्वनिर्भर दलबाट बिष्णु लामा, निरपानी कृषि संघका सचिव शिव नारायण शर्मा आदिको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै खण्ड बिकास अधिकारी बिप्लव कुमार रोयले कृषि कार्यबाट कृषकहरुलाई धेरै लाभ हुने बताउँदै कुखुरा, बाख्रा, सुंगुर, गाई, गोरु, माछा पालन आदि कृषकहरूले राम्ररी पालन गरेर बेचबिखन गर्न सकिए यसलाई मिनि एटीएम नै बनाउन सकिने बताए। तिनले कृषकहरुलाई कृषि कार्यलाई व्यवसायीक बनाउने अपील पनि गरे। प्राणी सम्पदा विभाग मिरिकका डा. कावेरी तामाङले पशु प्रणीदेखि लिएर मान्छेसमेतलाई रेबिज कसरी सर्छ र यसबाट कसरी बाँच्न सकिन्छ त्यस उपायबारे आधारभूत जानकारी गराइन्। शिव नारायण शर्माले विभागले निरपानीमा विभिन्न कृषिजन्य वस्तुहरूको बीजहरूको वितरण गरिरहेकोले यसबाट कृषकहरू लाभान्वित भइरहेको बताए। कार्यक्रमलाई मिरिक महकुमा शासकले सम्बोधन गर्दै यस्तो मेलाले कृषकहरूलाई लाभ पुग्ने बताउँदै यसबाट सबैले फइदा उठाउने आह्वान गरे। मेलामा मकैको बिउ र पशु प्रणीहरुको निम्ति नि:शुल्क औषधीहरू वितरण गरियो। यसको साथै मेलामा विभिन्न प्रकारको स्टलहरु पनि राखिएको थियो।