सिलगढी (निसं): शहरमा यदि कुनै प्रकारको अप्रिय घटना भयो भने सबैभन्दा पहिला पुलिसको नजर नजिकमा रहेको सीसीटीभी-माथि जाने गर्दछ। तर पुलिसले जडान गरेको एनजेपी थाना इलाकाको विभिन्न ठाउँमा रहेको सीसीटीभी गत केही महिना अघिदेखि नै काम नलाग्ने अवस्थामा पुगेको छ। समयमा नै यसको मरमति नगरेकोले गर्दा यो इलाकामा चोरी, डकैतीका घटनाहरू दिनहुँ जसो बढ़दै गइरहेको देखिन्छ। यसको साथै यस इलाकाको वासिन्दाहरूले पनि असुरक्षा महसुस गर्न थालेका छन्। हाल सीसीटीभी क्यामेरा बन्द रहेको कारण मानिसहरूको अझ चिन्ता बढ़ेको छ। यति मात्र होइन, सीसीटीभी क्यामेराले काम गर्न छोडेको थाहा पाएपछि केही स्थानीय व्यवसायीहरूको निंद्रा हराएको छ। गत 11 मई 2021 मा सिलगढीका तत्कालीन पुलिस आयुक्त देवेन्द्र प्रकाश सिंहले एनजीपी थाना इलाकामा मोठ 63 वटा सीसीटीभी क्यामेराको उद्घाटन गरेका थिए। ती क्यामेराहरूको हेरचाह गर्नको लागि मुख्य कन्ट्रोल रूम समेत एनजेपी थाना परिसरमा नै बनाइएको थियो। तथापि त्यसको उचित देखभालको कमीले गर्दा हाल लगभग सबै सीसीटीभी क्यामेराले काम गर्न छोडेको बताइन्छ। पुलिस प्रशासनले यसतर्फ ध्यान नदिएको आरोप रहेको छ। अर्कोतिर, यसबारे सिलगढीको मेट्रोपलिटन पुलिसका डीसीपी जय टुडूले बताए अनुसार पुलिसले एनजेपी थाना इलाकामा दिनहुँ नाका चेकिङ गरिरहेको छ। यस वाहेक, बन्द रहेको सबै सीसीटीभी क्यामेरालाई पनि अब चाँडै ठीक गरिने तिनले बताएका छन्।
