सिलगढी : धेरै समय अघिदेखि मनोज पाल एनजेपी ट्रक ओनर्स एसोसिएशनको सचिवको रूपमा कार्यरत छन्। तथापि, ट्रक मालिक तथा चालकहरू तिनीसित खुसी छैनन्। यसैले चाँडो भन्दा चाँडो मनोज पाललाई सचिव पदबाट हटाएर दशरथ रायलाई नयाँ सचिव बनाउने माग गर्दै एनजेपी परिसर एकपल्ट फेरि गर्मिएको छ। प्राप्त जानकारी अनुसार मालिक तथा चालकहरूले आज सेन्डिकेट कार्यालय बन्द गरेर नयाँ अस्थायी कार्यालय बनाएर काम शुरू गरेपछि इलाकामा तनाउको स्थिति उत्पन्न भयो। एनजेपी थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याएको बताइएको छ। यसपछि एनजेपीको तृणमूल श्रमिक संगठनका अध्यक्ष सुजय सरकारको पहलमा एउटा बैठक गरेर समस्याको समाधान गरियो। यस सम्बन्धमा अध्यक्ष सुजय सरकारले भने, एनजेपी ट्रक ओनर्स एसोसिएशनको सचिवको कामसित ट्रक मालिक तथा चालकहरू खुशी छैनन्। तिनीहरूले धेरै समय अघिदेखि सचिव बद्ली गर्नुपर्ने माग गरिरहेका थिए। चुनाउ प्रक्रियाको माध्यमद्वारा नयाँ सचिव चयन नगरिन्जेलसम्म सात सदस्यको एउटा कमिटी बनाइएको छ भने उक्त कमिटीले एनजेपी ट्रक ओनर्स एसोसिएशनको कार्यभार सम्हाल्नेछ।