फाँसीदेवा: नुहाउन गएका 2 जना किशोर नदीमा डुबेर निखोज भएका छन्। उक्त घटना आज फाँसीदेवा ब्लकको विधाननगर चिकनमाटी इलाकाको बुढीबालासन नदीमा घटेको हो। निखोज किशोरहरू क्रमैले पवित्र सिंह र देवाशीष सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो 5 जना साथी मिलेर बुढीबालासन नदीमा नुहाउन गएका थिए। तीमध्ये 2 जना किशोर नदीमा डुबेपछि अन्य साथीहरूले तिनीहरूलाई उद्धार गर्ने प्रयास गरे तापनि विफल भए। यसपछि तिनीहरूले घटनाबारे स्थानीय मानिसहरूलाई जानकारी गराएपछि तिनीहरूले विधाननगर थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर विधाननगर थाना पुलिस घटनास्थलमा पुगेर दुई किशोरको खोजी शुरू गरेको छ।