इम्फाल: टोक्यो ओलम्पिकको उद्घाटन भएको दिनमा नै वेटलिफ्टिङमा भारतलाई पदक दिलाउन सफल बनेकी मणिपुरकी महिला खेलाडी मिराबाई चानुले मणिपुरस्थित आफ्नो घरमा एउटा कार्यक्रमको आयोजना गरेर ट्रक चालकहरुलाई सम्मान जनाइन्। आफु सफलताको शिखरमा पुग्न शुरुवाती कालको ट्रेनिङ अवधि ट्रक चालकहरुले चानुलाई ठुलो गुण लगाएका थिए। मणिपुरको दुर्गम गाउँ नोङपोक काकचिङबाट तिनी दिनहुँ 25 किमी टाडास्थित इम्फालमा ट्रेनिङ शिविरमा जानु पर्थ्यो। तर त्यो समय गाडीको सुविधा नभएकोले चानु दैनिक रुपमा ट्रकमा चढेर आउजाउ गर्थिन्।

त्यतिबेला उक्त ट्रकहरु खोलाबाट बालुवा, गिटी, ढुंगा आदि लोड लिएर इम्फाल जाने आउने गर्थ्यो। यसरी आफ्नो प्रशिक्षण कालमा ती ट्रक चालकहरुले पुराएको निस्वार्थ सहयोगको निम्ति आभार प्रकट गर्न घरमैं एउटा कार्यक्रमको आयोजना गरेर उपस्थित चालकहरुलाई उपहार प्रदान गर्दै सहयोगको निम्ति कृतज्ञा व्यक्त गरिन्। चानुको यस मानवीय पहलको अहिले देशभरिमैं खुबै चर्चा चलिरहेको छ।
