पादरी गंगाप्रसाद प्रधानको सालिग निर्माणको निम्ति युसीएमओ-द्वारा आर्थिक सहयोग

खरसाङ: पादरी गंगाप्रसाद प्रधान सालिग निर्माण समिति अनि गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त आयोजनामा निर्माण हुन लागेको पादरी गंगाप्रसाद प्रधानको सालिग निर्माणको निम्ति ईसाईहरूको एउटा संगठन युनाइटेड क्रिश्चियन माइनोरेटी अर्गनाइजेशन (युसीएमओ)-ले एक लाख बीस हजार सहयोग प्रदान गरेको छ। गोर्खा जनपुस्तकालयको अध्ययन कक्षामा एउटा कार्यक्रमको आयोजना गरेर उक्त सहयोग राशि प्रदान गरिएको हो। कार्यक्रममा युसीएमओको पक्षबाट संगठनका अध्यक्ष एवम् पहाड़िया अल्पसंख्यक विकास बोर्डका अध्यक्ष फादर सोलोमन सुब्बा, युसीएमओ सहसचिव पास्टर जेम्स विश्व, कार्यकारी सदस्य जेस्सी तामाङ, खरसाङ शाखाका सचिव पास्टर कुन्दन तामाङ लगायत तराई क्षेत्रका प्रतिनिधिहरू उपस्थित थिए। पुस्ताकालयको उप सभापति प्रकाश प्रधानद्वारा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै पुस्तकालयका पूर्व अध्यक्ष तिलक शर्माले हाम्रो जातिलाई भाषगत, साहित्यगत परिचय गराउने हाम्रा पूर्वजहरूलाई सम्मान गर्ने, श्रद्धा सुमन अर्पण गर्ने कार्य गोर्खा जनपुस्तकालयले गरिरहेको अवगत गराए। जातिको हितको निम्ति प्रथम गोर्खा पत्रिका निकालेर पादरी गंगाप्रसाद प्रधानले सम्पूर्ण जातिको सेवा गरेको दावी गर्दै तिनले गङ्गा प्रसादको सालिग अनावरण हुनु भनेको सम्पूर्ण गोर्खा जातिकै निम्ति गर्वको विषय हो भनी बताए। शर्माले पादरी गंगाप्रसाद प्रधानको सालिग आगामी वर्ष मार्च-अप्रेल महिनातिर पीबी रोडमा अवस्थित अनावरण हुने औ उक्त समारोहमा देशभरिका विभिन्न वरिष्ट गोर्खा संगठनका प्रतिनिधिहरूलाई निम्ताइने अवगत पनि गराए। फादर सोलोमन सुब्बाले आजसम्म ईसाई समुदायहरूमाझ पनि ओझेलमा रहेका पादरी गंगाप्रसाद प्रधानको सालिग निर्माण विश्वाभरिमा नै प्रथम रहने अवगत गराउँदै पादरी गंगाप्रसाद प्रधान सालिग निर्माण समिति अनि गोर्खा जनपुस्तकालयको यो कार्य अति नै सराहनी रहेको बताए। यो ऐतिहासिक कार्यलाई सफल बनाउन युसीएमओका सदस्यहरूद्वारा संग्रहित अनुदान मोठ एक लाख बीस हजार आज यहाँ प्रदान गरिएको साथै सुब्बाले आफ्नो निजी पक्षबाट पनि पचास हजार रुपियाँ सालिग निर्माणको निम्ति दिने घोषणा गरे। कार्यक्रमलाई राजीब सुब्बाले पनि सम्बोधन गरेका थिए भने सालिग निर्माणको निम्ति आर्थिक सहयोग गर्ने सबैप्रति तिनले आभार व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *