मिरिक: पहाडमा अब तृणमूल कङ्ग्रेस पार्टीको कुनै विकल्प नरहेको तृणमूल कङ्ग्रेस युवा संगठन दार्जिलिङ जिल्ला सचिव रमेश कडरियाले दावी गरेका छन्। आज मिरिकमा पत्रकारहरूसित कुराकानी गर्दै तिनले भने, अब पहाडमा विकास र रोजगारको जति पनि सकारात्मक कार्यहरू हुन्छ त्यो केवल तृणमूल कङ्ग्रेसमार्फत मात्र हुनेछ। पहाडको स्थायी राजनैतिक समाधानको लागि पनि मुख्यमन्त्री ममता ब्यानर्जीले पहल शुरू गरिसकेको छ। तिनले भाजपा, गोजमुमो, गोरामुमो, हाम्रो पार्टी, भागोप्रमो आदि जस्ता पार्टीहरूले पहाडको जनताको हितमा केही गर्न नसक्ने ठोकुवा गर्दै ममता ब्यानर्जीले पहाडलाई ओैधी माया गर्छिन र नै पहाडको स्थायी राजनैतिक समाधान गर्ने तिनले पहल गरिसकेको बताए। तिनले अझ भने, अब हात घुमाएर होइन तर सिधा हातले कान समात्नुपर्छ भन्दै पहाडवासीले अब मन खोलेर तृणमूल कङ्ग्रेसलाई साथ र समर्थन गर्नुपर्छ। तिनले स्वास्थ्य तथा परिवार कल्याण विभाग अन्तर्गत कालेबुङ र दार्जिलिङ जिल्लाको जिल्ला स्तरीय चयन समितिको अध्यक्ष पदमा हिल टीएमसी अध्यक्ष तथा राज्यसभा सांसद शान्ता छेत्रीलाई पश्चिम बंगाल स्वास्थ्य तथा परिवार कल्याण विभागद्वारा नियुक्त गरेकोमा मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट गर्दै शान्ता छेत्रीलाई बधाई दिएका छन्।
