सिलगढी, 6 मई (निसं): उत्तर बंगालको प्रवेशद्वार न्यू जलपाईगढी (एनजेपी) रेलवे स्टेशनलाई अहिले विशेष सुरक्षा घेरामा राखिएको छ। हालै कश्मीरको पहलगाममा भएको आतंकी हमला अनि यसपछि भारत अनि पाकिस्तानमाझ देखा परेको तनाउ बीच आरपीएफ-ले सम्पूर्ण स्टेशनभरिमा नै कठोर निगरानी राखेको छ। रेलवे यात्रुहरूको सुरक्षालाई सुनिश्चित गर्न 24 घण्टा नै संयुक्त गस्ती तथा प्लेटफर्म र ट्र्याकको नियमित निरीक्षण भइरहेको छ। आरपीएफ अधिकारीहरूले दिएको जानकारी अनुसार यात्रुहरूको सुरक्षाका लागि विशेष खोज अभियान सञ्चालन गरिएको हो। स्टेशनका प्रत्येक कुनामा निगरानी राखिएको छ, जसमा शंकास्पद व्यक्तिहरूसँग सोधखोज गर्नका साथै स्नीफर डगको सहयोगमा संदिग्ध सामानहरूको गहन जाँच भइरहेको छ।
अर्कोतर्फ, रेलवे विभाग र प्रशासनले सर्वसाधारण यात्रुहरूलाई नआत्तिने र सहयोग गर्ने अनुरोध गरेका छन्। सम्बन्धित विभागले यस्तो प्रकारको छानबिन नियमित रूपमा गरिने जानकारी दिएको छ।