खरसाङ: एनएच 55 अन्तर्गत खरसाङको तीनधारे पैह्रोको निर्माण कार्य गत जनवरी महिनामा समाप्त भएपछि तीनधारे क्षेत्रको पुरानो गरिमा पुन: फर्केर आएको छ। सन् 2011 को 18 सेप्टेबरमा गएको पैह्रोले एनएच 55 बाधित बनेपछि तीनधारे क्षेत्रका जनसाधारणले 8-9 वर्षसम्म धेरै असुविधा भोग्न परेको थियो तर सन् 2016 देखि यो वृहत पैह्रोको निर्माण कार्य शुरु भएपछि लगभग 4-5 वर्षपछि गत जनवरी महिनामा उक्त तीनधारेको पैह्रो निर्माण कार्य समाप्त भएपछि अब विस्तारै तीनधारे क्षेत्रको पूपरानो गरिमा फर्केर आउन थालेको छ। उक्त पैह्रोको कार्य महाराष्ट्रको एउटा कम्पनीले लगभग 15-16 जना इञ्जिनियर लगभग 300 जना श्रमिकहरूले तीनवटा सिफ्टमा 24 घण्टा नै कार्य गरेर लगभग 120 करोड़ रुपियाँको लागतमा समाप्त गरेको छ। पैह्रोको निर्माण कार्य पूरा भएपछि तीनधारे क्षेत्रका स्थानीय मानिसहरू धेरै खुशी देखिएको छ । स्मरण रहोस, सन् 2011 मा एनएच 55 अन्तर्गत डीएचआरको तीनधारेस्थित कारखानाको मुनिपट्टि पैह्रो गएपछि डीएचआरको अस्तित्व संकटमा परेको थियो भने तीनधारे क्षेत्र झण्डै कालापानी जस्तै बनेको थियो। पैह्रोको कारण मानिसहरू पलायन हुन थालेका थिए भने धेरैले मधेशको सुकना सालबारीतिरै आफ्नो घरहरू पनि बनाउन थालेका थिए। तीनधारेको उक्त पैह्रो नयाँ आधुनिक तक्निकीद्वारा निर्माण कार्य पूरा भएपछि अहिले फेरि गाड़ीहरू सुचारु भएको छ भने सबै ट्रकहरू एनएच 55 भएर कुद्न थालेपछि तीनधारे क्षेत्रमा पुरानो रौनकता पुनः फर्केर आएको देखिन्छ। त्यसरी नै तीनधारे यसको संलग्न क्षेत्रहरूमा लाइन होटलहरू पुन: सञ्चालन हुन थालेको छ भने दोकानहरू पहिले झैं सड़क छेउ छाउतिर खोलिन थालेको छ। तीनधारेको पैह्रो निर्माणको लागि तीनधारे पिपल्स वेलफेयर सोसाइटी, दार्जिलिङ ट्रक चालक संगठन, तीनधारे क्षेत्रका संघ संस्थाहरू र बुध्दीजीवीहरूका महत्वपूर्ण भूमिका सराहनीय मान्न सकिन्छ।