पञ्चायत चुनाउलाई लिएर बकमफुसे कुरा नगरिदिने बिमल गुरूङलाई सभासद अरूण सिग्चीको सुझाउ

मिरिक (निसं): जीटीएका कार्यकारी सभासद अरूण सिग्चीले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरूङलाई पञ्चायत चुनाउलाई लिएर बगमफुसे कुरा नगर्ने सुझाउ दिएका छन्। मिरिक भ्रमण अवधि गोजमुमो अध्यक्ष बिमल गुरूङले पत्रकारहरूलाई पञ्चायत चुनाउबारे प्रश्न गर्दा पञ्चायत चुनाउ संवैधानिक प्रणाली रहेको तर पहाडमा दुई स्तरीय होइन, त्रिस्तरीय पञ्चायत चुनाउ हुनुपर्छ भन्दै जिल्लापाल साथै पश्चिम बंगाल सरकारलाई समेत पत्राचार गरेको बताएका थिए। यसको साथै तिनले पञ्चायत चुनाउलाई लिएर गरिएको सिमाङ्कन प्रक्रियामा पनि असन्तुष्टि जाहेर गरेका थिए। सोही कुरोको जवाफ दिँदै जीटीएका कार्यकारी सभासद अरूण सिग्चीले गुरूङमाथि कटाक्ष कसेका छन्। सिगचीले पत्रकारहरूलाई बताए अनुसार शुरूमा जीटीएको सम्झौता हुँदा गोजमुमो अध्यक्ष बिमल गुरूङले नै जीटीएभित्र त्रिस्तरीय चुनाउ हुनु पर्छ भनेर हस्ताक्षर गर्न लगाए तापनि उनको कार्यकाल अवधि त्रिस्तरीय होइन तर एक स्तरीय पञ्चायत चुनाउसमेत गराउन नसकेको आरोप लगाए। गोजमुमो गोर्खाल्याण्डको निम्ति दिल्लीमा सम्पन्न गरेको संगोष्ठिलाई लिएर सिग्चीले गुरूङलाई प्रश्न तेर्साउदै भने, गोर्खाल्याण्डको लागि दार्जिलिङवासीलाई एकजुट बनाउन नसक्नेले देशभरिका मानिसहरूलाई कसरी एकजुट बनाउनु सक्नु हुन्छ? यसरी बगमफुसे कुरा गर्दै जनसाधारणलाई अन्योलमा नपार्ने समेत तिनले सल्लाह दिए। तिनले भने, वर्ष 2017-मा सम्पूर्ण जनसाधारण एकजुट भएका थिए तर त्यसबेला बिमल गुरूङ जनतालाई छाडेर भागेका थिए। त्यो आन्दोलन त्यसै भएको थिएन तर आफू बाँच्नको निम्ति बिमल गुरूङ भागेको पनि सिगचीले आरोप लगाए। दागोपाप-को समयमा पनि पहिले पहिले बस्तीमा मात्र पञ्चायत चुनाउ हुने गरेको अनि पछि आएर मात्र चियाबारीमा चुनाउ भएको कुरालाई तिनले स्मरण गराउँदै दुई स्तरीय अनि त्रिस्तरीय पञ्चायत चुनाउपछि पञ्चायत समिति, महकुमा परिसदका अधिकारीहरूको पावर कति हुन्छ थाहा छ भन्दै प्रश्न समेत गरे। यसरी नै तिनले भारतीय जनता पार्टीप्रति पनि कटाक्ष कस्दै 2024 मा हुने चुनाउको निम्ति भाजपाले पनि आफ्नो रणनिति तयार पार्दैछ, कुन दिन र कहिले नि:शुल्क चामल बाढ्न थाल्छ गर्छ तर छुटेका गोर्खा जातिलाई जनजातिको दर्जा किन हालसम्म प्रदान गर्न सकेन भन्दै प्रश्न तेर्साए। अन्य समुदायहरूलाई जनजातिको दर्जा प्रदान गर्दा आरजीआई-को कुरा उठ्दैन तर गोर्खा समुदायलाई जनजातिको दर्जा प्रदान गर्नलाई किन आरजीआई बाधा हुन्छ यसैले सबैले बुझ्नु पर्छ, सिग्चीले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *