पानीट्याङ्की : पानीट्याङ्कीमा सरकारी बसको धक्का लागेर एकजना बाइक चालक गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज पानीट्याङ्की संलग्न क्वार्टर मोडमा बसको धक्का लागेर एकजना बाइक चालक गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनापछि तिनलाई तत्कालै उद्धार गरेर नक्सलबारी अस्पतालमा लगे तापनि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। उक्त घटनापछि उत्तेजित मानिसहरूले सरकारी बस तोडफोड गरे। घटनाको खबर पाएर नक्सलबारी पुलिस तथा पानीट्याङ्की पुलिस घटनास्थलमा पुगेर बस उद्धार गरेर नक्सलबारी थानामा लगे। घटनापछि बस चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।
