गान्तोक: वरिष्ठ पत्रकार तथा दैनिक ‘मिरमिरे’-का सम्पादक किशोर मोक्तानलाई सिक्किम सरकारद्वारा वाईएन भण्डारी उत्कृष्ट पत्रकारिता पुरस्कार 2020-ले सम्मानित गरिने भएको छ। सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागद्वारा सरमसामा आगामी 12 दिसम्बर 2020-को दिन आयोजना गरिने राष्ट्रिय प्रेस दिवसमा तिनलाई मुख्यमन्त्री पीएस तामाङको बाहुलीबाट पुरस्कृत गरिने भएको छ। पुरस्कारमा नगद राशि 2 लाख रुपियाँ, स्मृतिचिन्ह र प्रशस्ति-पत्र सामेल रहेको छ। पत्रकार मोक्तानले तीन दशकभन्दा अधिक समयदेखि लगातार सिक्किमेली पत्रकारितामा उल्लेखनीय योगदान पुऱ्याउँदै आइरहेका छन्। तिनले हिमाली बेला, सुनचरी, हाम्रो प्रजाशक्ति र आकाशवाणी गान्तोकको माध्यमबाट आफ्ना समाचार, वार्ता तथा लेखहरू सम्प्रेषण गरेर समाजलाई ठूलो टेवा पुऱ्याउँदै आइरहेको तिनको दीर्घकालीन योगदानको कदर गर्दै सिक्किम सरकारले उक्त पुरस्कारले पुरस्कृत गर्ने निर्णय लिएको बताइएको छ।