फाँसीदेवामा ड्युटीमा तैनाथ बीएसएफ जवानको चट्याङ लागेर मृत्यु

फाँसीदेवा, 10 अप्रेल (निसं): चट्याङले एकजना बीएसएफ जवानको मृत्यु भएको छ। फाँसीदेवास्थित भारत–बङ्गलादेश सिमाना अन्तर्गत बन्दरगछ क्षेत्रमा गस्तीको क्रममा चट्याङ लागेर एकजना जवानले प्राण गुमाएको छ।
जानकारी अनुसार, बीएसएफ जवान दीपक कुमार बुधबार राति बन्दरगछ गाउँ नजिकैको 23 नम्बर गेटमा गस्ती लगाइरहेका थिए। रातिको समयमा अचानक चट्याङसहित पानी पर्न सुरु भयो, उनी त्यसबेला ड्युटीमैं थिए।
बीएसएफ सूत्र अनुसार गेटको अघि चट्याङ लागेर जवान जमिनमा लडे। त्यसपछि अन्य बीएसएफ जवानहरू घटनास्थलमा पुगेर घाइते जवानलाई तत्कालै फाँसीदेवा ग्रामीण अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे। फाँसीदेवा थाना पुलिसले घटनाको जाँच गरिरहेको छ भने शवलाई पोष्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज तथा अस्पताल पठाइएको छ। मृतक जवान बिहार निवासी रहेको जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *