फाँसीदेवा : फाँसीदेवा ब्लकको चटहाट ग्राम पञ्चायतको दुधखावागछमा आगलागी हुँदा 4 वटा घर जलेर खरानी भएको छ भने 2 वटा घरलाई आंशिक क्षति पुर्याएको छ। खाना पकाइरहेको समय उक्त आगलागी भएको अनुमान लगाइएको छ। प्राप्त जानकारी अनुसार सर्वप्रथम स्थानीय मानिसहरूले एउटा घरमा आगो लागेको देखेपछि क्षणभरमै यसको छेउछाउको घर उक्त आगोको चपेटमा परेको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा आगोलाई निभाउने प्रयास गर्नको साथै आगलागीबारे दमकल विभागलाई खबर गराइयो। घटनाको खबर पाएर सिलगढी तथा मतिगढाबाट 2 वटा दमकलको इञ्जिन घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याए तापनि आगलागीमा 4 वटा घर जलेर खरानी भएको छ। यसको साथै 2 वटा घरलाई आंशिक क्षति पुर्याएको छ। घटनाको खबर पाएर फाँसीदेवाका बीडीओ सञ्जु गुह मजुमदार घटनास्थलमा पुगेर पीडित परिवारका सदस्यहरूसित भेट गरे। ब्लक प्रशासनको तर्फबाट पीडित परिवारहरूलाई खानेकुरा, लुगाफाटा, तारपोलिन वितरण गरियो। यसको साथै बीडीओले पीडित परिवारलाई आर्थिक सहयोगका लागि उच्च अधिकारीहरूलाई अवगत गराउने आश्वासन दिएका छन्।
