राजगञ्ज (निसं): फाटापुकुर बस स्ट्यान्ड संलग्न इलाका हाल अस्थायी डम्पिङ ग्राउन्डको रूपमा परिणत भएको छ। यहाँबाट आउने दुर्गन्धले गर्दा स्थानीय मानिसहरू लगायत दोकानदारहरू समेत चिन्तामा परेका छन्। स्थानीय मानिसहरूले लगाएको आरोप अनुसार लगभग एक साल अघिदेखि राष्ट्रीय राजमार्गको किनारमा दिनहुँ मैला-कुचैलाहरू फ्याँकिने गरिन्छ। जसले गर्दा इलाकामा दुर्गन्ध फैलिरहेको छ। उक्त दुर्गन्धले गर्दा ग्राहकहरू दोकानमा आउन मान्दैनन्। यसैले अब व्यवसाय चलाउन यहाँ निक्कै असुविधा भइरहेको स्थानीय व्यवसायीहरूले गुनासो पोखेका छन्।
अर्कोतिर, यस विषयमा पानीकौरी ग्राम पञ्चायतका प्रधान पापिया सरकारले भनिन्, फाटापुकुरका मानिसहरूको लागि यो एउटा ठूलो समस्या भएको छ। सडकको किनारमा नै यहाँ मैला-कुचैला फ्याँक्ने गरिन्छ। यसले गर्दा इलाकामा दुर्गन्ध फैलिन्छ। तिनले अझ भनिन्, मैले आफै पनि धेरैपल्ट मानिसहरूलाई दुर्गन्ध नफैलाइदिने बारे जागरूक गरिसकेकी छु। यस मामिलामा ब्लक प्रशासनसित कुराकानी गरेर समस्याको समाधान गर्नेछौ।