मिरिक: मिरिक महकुमा अन्तर्गत सौरेनी चियाबारी 17 नम्बर सेक्सनको खेला मैदानको मुन्तिर लगभग 15 परिवार बसोबास गर्दछन्। उक्त ठाउँमा सौरेनी बजारको फोहोर-मैला पसेर गाउँमा दुर्गन्ध फैलिन थालेको गाउँलेहरुले गुनासो पोखेका छन्। सौरेनी बजार र वरिपरिको फोहोर मैला सो गाउँतर्फ आउने नालामा फ्याँक्ने गर्दछ। उक्त नालामा बगेको फोहोर मैला सौरेनी खेला मैदान हुँदै सोझै यस गाउँमा पुगेपछि विकराल रुप लिएर प्रवेश गरेको स्थानीय मानिसहरुको भनाई छ। झोडा अनि फोहोरले आजसम्म धेरै क्षति भएको गाउँलेहरूको गुनासो रहेको छ भने उक्त कार्यको समयमै रोकथाम नगरे सम्पूर्ण गाउँ नै पैह्रोले सोह्रेर लैजाने सम्भावना रहेको गाउँलेहरु बताउँछन्। गाउँलेहरुले सम्बन्धित निकाय समक्ष यथाशिघ्र समाधानको लागि अपील गरेका छन्।
