सिलगढी : सिलगढी सहरको विभिन्न बजार एवम् वाणिज्यिक केन्द्रहरूलाई फोहोर-मैला मुक्त बनाउने उद्देश्य लिएर कन्जर्भेन्सी सर्भिस चार्ज लिइने भएको छ। सहरलाई सफा-सुग्घर राख्ने उद्देश्य लिएर सिलगढी नगरनिगमले उक्त पहल गरेको हो। प्राप्त जानकारीअनुसार सिलगढी सहरको माछा, मासु, साग-सब्जी दोकानहरूबाट प्रत्येक दिन 10 रुपियाँ कन्जर्भेन्सी सर्भिस चार्ज लिइने भएको छ। यसको साथै सिलगढी नगरनिगम अन्तर्गत पर्ने वार्डहरूको बजार एवम् वाणिज्य केन्द्रहरूमा कन्जर्भेन्सी वर्कर्स तैनाथ गरिनेछ। सिलगढीको एसएफ रोड, विधान रोड, हिलकार्ट रोड, वर्द्धमान रोड, निवेदिता रोडमा रातिको समय कन्जर्भेन्सी सर्भिस शुरू गरेको छ। सलिड वेस्ट म्यानेजमेन्टलाई एउटा टोटो पनि दिइएको बताइएको छ। स्मरण रहोस्, गत 14 मार्चमा कन्जर्भेन्सी अधिकारी एवम् काउन्सिलरहरूलाई लिएर गरिएको सिलगढी नगरनिगमको बोर्ड मीटिङमा उक्त निर्णय लिएको हो भने अब 10 रुपियाँ गरेर कन्जर्भेन्सी सर्भिस चार्ज लिइनेछ। सहरवासीहरूको आरोप अनुसार सहरको सडकहरूमा जताजतै फोहोर-मैला फ्याँक्ने गर्दछ। सहरको विशेष महत्वपूर्ण बजारहरूमा दार्जिलिङ पहाड, डुवर्स तथा टाढा-टाढाबाट मानिसहरू बजार गर्न आउने गर्दछन्। यसैलाई ध्यानमा राखेर नगरनिगमले फोहोर-मैला सफा गर्ने साथै कन्जर्भेन्सीलाई नयाँ प्रकारले सजाउने पहल गरेको छ। यस सम्बन्धमा सफाई विभागका मेयर पार्षद माणिक दे-ले भने, राम्रो सेवा प्रदान गर्ने उद्देश्य लिएर कन्जर्भेन्सी सर्भिस चार्ज बढाइएको हो।