सिलगढी : घरमा नल भए तापनि पानी नआउने गरेकोले डाबग्राम-फुलबारी विधानसभा अन्तर्गत दक्षिण शान्तिनगर इलाकाको आनन्दपल्ली 19/53 पार्टका मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। यसैले गाउँलेहरूले बाध्य भएर पिउने पानीको माग गरेका छन्। प्राप्त जानकारी अनुसार गत 2 वर्षदेखि डाबग्राम-फुलबारी विधानसभा अन्तर्गत विभिन्न इलाकाहरूमा शुद्ध पिउने पानीको पाइप लाइन बिछाइएको छ। केही ठाउँहरूमा पिउने पानी आए तापनि दक्षिण शान्तिनगर इलाकाको 110 घरमा हालसम्म पानी आएको छैन। यसैले आज स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे। स्थानीय मानिसहरूको आरोपअनुसार धेरै समय अघिदेखि पिउने पानीको समस्यासित जुझिरहेका छन्। पिउने पानी ल्याउनको लागि टाढा जानपर्छ। गर्मीको समयमा कुवाको पानी पनि सुक्ने गरेकोले पिउने पानी किनेर खान पर्छ। यसबारे स्थानीय पञ्चायत सदस्यहरू लगायत विभिन्न विभागहरूलाई जानकारी गराए तापनि हालसम्म कुनै पहल गरेको छैन। यसैले गर्दा आज नानीहरू लगायत इलाकाका मानिसहरू सडकमा ओर्लिएर पिउने पानीको माग गरिरहेका छन्। डाबग्राम-फुलबारीका विधायक शिखा च्याटर्जीले फोनमार्फत् यसबारेमा भनिन्, दक्षिण शान्तिनगर इलाकामा मात्र नभएर चयनपाड़ा सहित सम्पूर्ण इलाकाका मानिसहरू पिउने पानीको समस्यासित जुझिरहेका छन्। इलाकामा रिजर्भर किन छैन भन्दै तिनले प्रश्न तेर्साइन्। केन्द्र सरकारले पिउने पानीको लागि धेरै राशि प्रदान गरे तापनि साधारण मानिसहरूलाई पिउने पानी दिन सकेको छैन। यो अन्याय हो। त्यहाँका प्रधानले कुनै काम नगरेको तिनले आरोप लगाइन्। अर्कोतिर, डाबग्राम 2 -का प्रधान सुधा सिंह च्याटर्जीले बताएअनुसार प्रत्येक पञ्चायत तथा अञ्चलबाट पीएचई विभागलाई पत्राचार गरिसकेको छ। सरकारी नियमानुसार 2024 सम्म प्रत्येक घरमा पिउने पानी पुग्नेछ।
