सिलगढी, 16 नोभेम्बर: सिलगढीको लोअर भानु नगरमा भएको पुष्पा छेत्रीको हत्याकाण्डमा संलग्न रहेको आरोपमा एकजना महिला सहित दुई जनालाई पुलिसले पक्राउ गरेको छ। पुष्पाको हत्याकाण्डमा संलग्न रहेको आरोपमा सिलगढीको भक्तिनगर थाना पुलिसले घटना भएको 9 दिनपछि गत राति एकजना युवती र एकजना युवकलाई पक्राउ गरेको हो। युवकको नाम रुस्तम विश्वकर्मा र युवतीको नाम प्रतीका पौडेल रहेको बताइएको छ। दुवै जना मालबजारको बाग्राकोट निवासी हुन्। प्राप्त जानकारी अनुसार, रुस्तम कामको सिलसिलामा सिलगढीमा बस्दै आइरहेका थिए। पुलिसले गत राति रुस्तमलाई सिलगढीबाट अनि प्रतीकालाई मालबजारको बाग्राकोटबाट पक्राउ गरेको हो। उक्त हत्याकाण्डमा अन्य एकजना आरोपी अझसम्म भागेकोले तिनको पनि पुलिसले खोजी गरिरहेको छ। आज पक्रा पर्ने दुवै आरोपीलाई जलपाईगढी अदालतमा पेश गरियो।
हालसम्मको पुलिस छानबिन अनुसार, प्रेम प्रसङ्गलाई लिएर हत्याको कारण बताइएको छ।
स्मरण रहोस, सिलगढी नगर निगमको 43 नम्बर वार्ड अन्तर्गत लोअर भानुनगर इलाकामा एउटा भाडाको घरमा बस्दै आइरहेका बाग्राकोट निवासी 25 वर्षीय पुष्पा छेत्रीको गला काटेर निर्ममतापूर्वक हत्या गरिएको थियो। उक्त हत्याकाण्डले सम्पूर्ण शहरमा सनसनी मच्चाएको थियो। घटना पछि भक्तिनगर थाना पुलिस टोलीले जाँच सुरु गरेको थियो। अन्ततः पुलिसले फोरेन्सिक जाँच टोलीको सहयोगमा दुई जना आरोपीलाई पक्राउ गर्न सफल भएको छ। पुलिसले घटनाको अझ विस्तृत जाँच गरिरहेको बताइएको छ।