सिलगढी : उत्तर दिनाजपुरको रायगञ्जमा एउटा सरकारी कार्यक्रममा अंश ग्रहण गर्नको लागि रेल राज्य मन्त्री सुरेश अंगड़ी चन्नबसप्पा आज बाघडुग्रा एयरपोर्टमा ओर्लिएपछि ट्रेनमार्फत् राधिकापुर प्रस्थान गरे। यसभन्दा अघि पत्रकारहरूसित विमानअड्डा परिसरमा कुराकानी गर्दै रेल राज्य मन्त्री सुरेश अंगड़ीले बताएअनुसार रायगञ्जकी सांसद देवश्री चौधरीले धेरै समय अघिदेखि राधिकापुरदेखि कोलकातासम्म चल्ने ट्रेनको माग गर्दै आइरहेकोले आज आफू त्यसै ट्रेनको उद्घाटन गर्नको निम्ति राधिकापुर गइरहेको हो। तिनले त्यहाँ रेलवे अधिकारीहरूसित एउटा बैठक गर्ने जानकारी दिए। रेलवेको विकासको लागि राज्य सरकारले केन्द्र सरकारसित मिलेर काम गर्नु आवश्यक रहेको तिनले बताए। स्मरण रहोस्, राधिकापुरदेखि कोलकातासम्म चल्ने एउटा विशेष ट्रेनको उद्घाटन गर्नका लागि रेल राज्य मन्त्री सुरेश अंगड़ी चन्नबसप्पा आएका हुन्।