कालेबुङ: गोर्खा जनमुक्ति मोर्चाको आयोजनामा राजनैतिक स्थायी समाधान (पीपीएस) बारे सेमिनार आज कालेबुङको मेफेयरमा आयोजना भइरहेको छ। उक्त सेमिनारमा विभिन्न राजनैतिक दल, संघ-संस्थाका प्रतिनिधिहरू उपस्थित भएका छन्। सेमिनारमा विशेष डा. महेन्द्र पी लामा, युवराज काफ्ले, डा. लोप्साङ लामा, अधिवक्ता आनन्द भन्डारी अनि डा. किशोर भारती स्रोत व्यक्तिका रूपमा निम्त्याएको छ। स्रोत व्यक्ति डा. महेन्द्र पी लामाले आफ्नो सम्बोधनमा पीपीएस-बारे खुबै सारगर्भित वक्तव्य पेश गर्दै आफुहरूको माग पीपीएस-बारे राज्य अनि केन्द्र दुवै सरकारलाई (भिन्न-भिन्नै) खुबै ध्यानपूर्वक मनन चिन्तन गरेर सबै राजनीतिक दल लगायत अन्य संघ-संस्थान तथा विभिन्न तह- तपकाका मानिसहरूलाई समावेश गरेर खेस्रा तयार गरेपछि मात्र बुझाउने अपिल गर्दै यसभन्दा अघिको पहाडमा लागू गरिएको व्यवस्थाहरूमा आफुहरूको कमी कमजोरी रहेको कुरा स्पष्ट पारे। यसको साथै जसले पहिला केन्द्र अथवा राज्य सरकारले हामीलाई हाम्रो माग अनुसारको उचित व्यवस्था दिन्छ, त्यसैलाई स्वीकार गर्नु राम्रो हो भनी तिनले बताए। आफ्नो सम्बोधनमा डा. लामाले वर्तमान समयमा राज्य सरकारबाट प्राप्त गर्न सकिने एक मात्र राम्रो व्यवस्था पहाड तराई डुवर्सलाई अन्तर्भुक्त गरेर संवैधानिक ग्यारेन्टी भएको 244 (ए) हुन सक्ने दावी गर्दै यसबारे पाइने सुख-सुविधा तथा साहुलियतहरूबारे विस्तृत जानकारी गराए। तिनले पीपीएस-को लागि सबै राजनैतिक पार्टी, पहाड,तराई डुवर्सका विभिन्न संघ-संस्थान तथा मानिसहरूलाई एक भएर आवाज उठाउनु पर्ने अपिल पनि गरे।
