कालेबुङ : चालक महासंघ कालेबुङले आज यहाँको रामकृष्ण रङ्गमञ्च (टाउन हल)-मा स्वर्गीय छिरिङ दोर्जी भुटिया शैक्षिक सम्मान समारोहको आयोजना गर्यो। उक्त समारोहमा जीटीए प्रमुख कार्यपाल अनित थापा मुख्य अतिथिको रूपमा उपस्थित थिए। तिनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, हाम्रो काम गराईमा राजनैतिक फाइदा होइन, जनताहित नै सर्वोपरि हुनुपर्छ। तिनले चालक महासंघ अनि संघका सभापति महेन्द्र ज्यूको मुग्ध कण्ठले प्रशंसा गर्दै भने, “महासंघले यस्तो असल काम गर्नु कहिले पछि पर्दैन कारण महासंघको नेतृत्व नै असल छ।
उहाँ पेसाले शिक्षक हुनुहुन्छ तर पनि चालकहरूलाई उहाँले कुशल नेतृत्व दिनु भएको छ।” महासंघमा एकता छ त्यसैले चालक महासंघले सुसेला मार्दा एम्बुलेन्ससम्म बन्द हुनसक्छ। यो संघको एकताको प्रतीक हो। पहाडमा कसले सत्ता चलाउँछ भन्ने महासंघलाई पहिला नै थाहा हुन्छ। यहाँको महासंघ सजिलोसँग टुक्रिने संघ होइन। हामीले जन्मँदा नै समस्या बोकेर आएका हौँ तर समस्यासित जुझेर अघि बढ्नु चालक महासंघले जानेको छ।