मिरिक (निसं): मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री मैतीले आज शुक्रबार मिरिक खण्ड विकास कार्यालयमा एउटा सर्वदलीय सभाको आयोजना गरिन्। यस अवसरमा तृणमूल कङ्ग्रेस, भाजपा, भागोप्रमो, गोरामुमो, क्रामकपा, हाम्रो पार्टीका प्रतिनिधिहरू लगायत मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री मैती, खण्ड संयुक्त अधिकारी अङ्कुर मित्र आदि उपस्थित थिए। सभामा भारतको निर्वाचन आयोगले जारी गरेको नयाँ मतदाता सूचीबारे मिरिक खण्ड विकास अधिकारी मैतीले राजनैतिक दलका प्रतिनिधिहरूलाई विस्तृत रूपमा जानकारी गराइन्। सभापछि पत्रकारहरूसित बोल्दै भागोप्रमो मिरिक महकुमा अध्यक्ष समीर राई, हाम्रो पार्टी प्रतिनिधि लाडुप घिसिङ, तृणमूल कङ्ग्रेस मिरिक महकुमा युवा अध्यक्ष सोभन घिसिङ अनि गोरामुमो मिरिक ब्राञ्च कमिटीका अध्यक्ष महेन्द्र खड्काले आजको सर्वदलीय सभामा मतदाता सूची तयार पार्ने सबै प्रकारका तरिकाबारे मिरिक खण्ड विकास अधिकारीले जानकारी गराएको अनि नयाँ मतदाताहरूको नाम दर्ता, अनलाइन फारम, मृतक ब्याक्तिहरूको मतदाता सूचीबाट नाम हटाउने प्रक्रिया, संशोधन आदि विषयमा विस्तृत जानकारी गराएको बताए।