सिलगढी : सांसद राजु विष्टले आज बाघडुग्रा एयरपोर्टमा एडभाइजरी काउन्सिललाई लिएर एउटा बैठक गरे। उक्त बैठकमा राज्य सरकारका प्रतिनिधिहरू उपस्थित नभएकोमा सांसद विष्टले क्षोभ प्रकट गरे। सांसद राजु विष्टले भने, एयरपोर्ट सबैको हो। यसैले एयरपोर्टको एडभाइजरी काउन्सिलको बैठकमा राज्य सरकारका प्रतिनिधिको रूपमा डीएम अथवा पुलिस कमिश्नर उपस्थित रहनु उचित थियो, तर बैठकमा कोही पनि उपस्थित थिएन। उक्त बैठकमा राज्यको प्रतिनिधिहरू सामेल रहेको भए चर्चा अझ राम्रो प्रकारले हुने थियो। बाघडुग्रा एयरपोर्टलाई नयाँ रूपमा तयार गर्ने विषयमा धेरै लामो समयदेखि कुराकानी भइरहेको छ। तर एयरपोर्टको जमिनको समस्याले गर्दा यसको काम अड्केको थियो भने हाल उक्त समस्याको समाधान भइसकेको छ। बाघडुग्रा एयरपोर्टलाई नयाँ रूपमा तयार गर्नको लागि राज्य सरकारबाट 98 एकड़ र वायुसेनाबाट 6 एकड़ जमिन पाइसकेको छ भने यसको लागि केन्द्र सरकारले राज्य सरकारलाई 25 करोड़ रुपियाँ पनि दिइसकेको छ। मोठ 104 एकड़ जमिनमा भव्य रूपमा बाघडुग्रा एयरपोर्ट बनाइनेछ। यसको लागि डिजाइनको काम शुरू भइसकेको छ भने चाँडै एयरपोर्ट निर्माणको काम पनि शुरू गरिनेछ। जाडोको समयमा एयरपोर्टमा विमान ल्यान्ड गर्न र उड़ान भर्नमा निक्कै समस्या हुने गर्दछ। यसको लागि भोलि शुक्रबार एयरपोर्ट प्रबन्धनले इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (ILS)–को जाँच गर्नेछ। यदि सबै ठिक रहेको खण्डमा शनिबारदेखि यस प्रक्रिया अन्तर्गत विमान ल्यान्ड तथा उड़ान भर्न सक्नेछ।
