सोनादा(निसं): नालीचाउरवासीको दीर्घकालीन सामुदायिक भवनको माग अब पूरा हुने छाँट देखा परेको छ। यसभन्दा अघिका सत्तासीन दलहरू अनि सम्बन्धित निकायकहाँ धेरैपल्ट अर्जी चढाए तापनि सामुदायिक भवन निर्माण हुन नसकेको नालीचाउरवासीको गुनासो छ। यद्यपि नालीचाउरवासीको दीर्घकालीन मागलाई कदर गर्दै नवनिर्वाचित सोनादा-पचेङ समष्टिका तथा जीटीए कार्यकारी सभासद अनोश थापाले नालीचाउरको सामुदायिक भवन निर्माणका लागि विधिवत शिलान्यास अनि भूमि पूजा गरे। सामुदायिक भवन निर्माणका लागि सभासद अनोश थापाले समष्टि अध्यक्ष सोनाम लामा अनि जमिनदाता धिरेन छेत्रीको बाहुलीद्वारा भूमि पूजा गराए भने शिलान्यास आफ्नै बाहुलीद्वारा गरे। नालीचाउरमा आयोजित शिलान्यास साथै सम्मान कार्यक्रमबीच कार्यकारी सभासद अनोश थापालाई नालीचाउरवासीको पक्षबाट संवर्द्धना जनाइयो। यसैगरी, सामुदायिक भवन जस्तो अतिवाश्यक कुराको लागि जमिन दान गर्ने जमिनदाता धिरेन छेत्रीलाई पनि सभासद अनोश थापाको बाहुलीद्वारा सम्मान जनाइयो।
स्थानीय डीके गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमलाई मुख्य अतिथिको रुपमा सम्बोधन गर्दै अनोश थापाले भने, यसपालिको चुनाउ हाम्रो लागि चुनाउ भन्दा बडी चुनौती थियो। हामीले धेरै दु:खकष्ट, विघ्नबाधा सहेर त्यो चुनौती पार गर्यौँ। अब कर्मले जित्नुपर्ने अर्को चुनौती छ। नालीचाउरको दीर्घकालीन सामुदायिक भवन निर्माणको माग थियो। जसको आज शिलान्यास र भूमि पूजा गरिएको छ। नरिवल फुटाउने प्रथा धेरै अघिदेखिको हो। जमिनदाताले ठूलो मनले जमिन दिए तर समयोचित काम नहुँदा विश्वास हराएर दान गरेको जमिन फिर्ता लिनुपर्ने अवस्था आउनु भनेको बडो बिडम्वनाको कुरा हो। तर एउटा कुरा स्पष्ट पार्न चाहन्छु कि शिलान्यास हुने बित्तिकै काम शुरु भइहाल्ने होइन। समतलमा बालुवा, गिटीको घाट हाल बन्द भएकोले घाट खोलिनसाथ सामान लिएर अगस्त-सेप्टेम्बर उता सामुदायिक भवन निर्माणको कार्य शुरु गरिनेछ। काम गुणस्तरको गर्नलाई निरीक्षण कमिटी गठन गरिनेछ अनि त्यही कमिटीको देखरेखमा काम हुनेछ। भागोप्रमो नालीचाउर शाखा सचिव सुदर्शन गुरुङद्वारा सञ्चालित कार्यक्रममा समष्टि अध्यक्ष सोनाम लामा, मूलसचिव सुकदेव राई, कोषाध्यक्ष मनकुस राई, भागोप्रमो श्रमिक संगठन केन्द्रीय सदस्य राजेश शर्मा, शाखा सभापति मधुकर गुरुङ, कोषाध्यक्ष कमलकुमार गुरुङ आदि उपस्थित थिए।