खरसाङ : खरसाङ शहरलाई स्वच्छ अनि सुन्दर बनाइराख्न खरसाङ नगरपालिकाको आयोजनामा आज यहाँको सर-सफाई गरियो। खरसाङ नगरपालिकाको सेन्ट्री इन्स्पेक्टरको अगुवाइमा कर्मबन्धुहरू लिएर खरसाङ नगरपालिका क्षेत्रमा सफाई कार्य गरिरहेको छ। खरसाङ नगरपालिकाको वार्ड नम्बर 13 को पंखाबारी रोड र वार्ड नम्बर 14 को सिमाना क्षेत्रमा रहेको मैला कुचैलाहरू र शौचालयहरूको आज सफाई गरियो। नगरपालिका क्षेत्रको मैलाहरू नगरपालिकाद्वारा लगातार रुपमा सर सफाई गरिरिहेको र यसमा जनताले पनि साथ दिनुपर्ने बताइएको छ। नगरपालिका क्षेत्रको सर सफाई पछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले वार्ड नम्बर 13 को पीबी रोड क्षेत्र र वार्ड नम्बर 14 को सिमाना क्षेत्रमा रहेको मैले कुचैलाहरू आज बिहानदेखि सफा गरिएको बताउँदै यहाँ जनहितको लागि नगरपालिकाद्वारा निर्माण गरिएको मैला फ्याँक्ने ठाउँमा सठीक रुपमा मैलाहरू नफ्याँकेर जथाभावी फ्याँक्ने गरेकोले नै यहाँ धेरै मैला देखिएको बताए। तिनले यहाँ बजारको सबै मैला कुचैलाहरू आउने गरेको र सबैले जे पायो त्यही फ्याँक्ने गरेकोले नै दुर्गन्धित बनेको र नगरपालिकाले कार्य गरेन भनेर भन्ने गर्छन् तर जनता पनि सचेत भएर मैलाहरू सठीक तरिकाले फ्याँक्ने गरे राम्रो हुने तिनले बताए। भाइस चेयरम्यान प्रधानले नगरपालिकाको कार्यलाई जनताले पनि साथ दिनु पर्ने आह्वान् गर्दै छेउ-छाउको जनताले सठीक रुपमा मैलाहरू नफ्याँक्नेहरू विरुध्दमा नगरपालिकालाई जानकारी गराइदिने अपिल पनि गरेका छन्। तिनले आज साई बाबाको जन्म दिवसको अवसरमा बजारको मैलाहरू सर-सफाई गरिएको बताए। यस कार्यमा वार्डको नगर पार्षदिका पनि उपस्थित थिए।
