दार्जिलिङ : मणिपुरको नोनीमा गएको पैह्रोको चपेटमा परेर प्राण गुमाएका सेनाका जेसीओको परिवारसित भेट गर्न गोजमुमो अध्यक्ष बिमल गुरुङ अपर हरसिंहहट्टास्थित सहिदको घरमा पुगे। तिनले सहिदका परिवारसित भेट गरेर शोक समवेदना प्रकट गरे। मणिपुर पैह्रोमा ज्यान गुमाएका 107 टीए-का 42 वर्षीय जेसीओ सुबेदार सजित सुब्बा (देवरत्न)-को शव भेट्टाएपछि परिवारमा शोकको लहर छाएको छ। घटनाको 4 दिनपछि हिजो पहिरोग्रस्त क्षेत्रबाट तिनको शव उद्धार गरिएको थाहा लागेको छ।
गिङ चियाबगान गेलेङटारमा जन्मिए तापनि अपर हरसिंहहट्टा, नालबन गाउँमा बस्दै आएका शहीद सुब्बा दुई महिना अघि मात्र छुट्टीमा आएका थिए। लालमान सुब्बा अनि मैच्याङ सुब्बाको चार छोराहरूमध्ये तिनी साइला छोरा हुन्। तिनले आफूपछि बाबा लालमान सुब्बा, आमा मैच्याङ सुब्बा, श्रीमति सृजना सुब्बा अनि दुई छोरीहरू दिपना अनि दीक्षालाई छोडेर गएका छन्। शोकमा डुबेको सहिद परिवारलाई सान्तवना दिँदै अध्यक्ष बिमल गुरुङले यो दु:खद क्षण रहे तापनि वीर छोराले देशको निम्ति मृत्युलाई अँगालेको सम्झेर गर्व अनुभूति गर्नुपर्ने बताए।