कालेबुङ: गोर्खाहरूको दीर्घकालीन संवैधानिक माग अलग राज्यको कट्टर पक्षधर संजीव लामा लगायत यौवन गुरुङ, श्याम कुमार राई, विशिष्ट प्रधान, बिकास राई भूतपूर्व कप्तान राजेन्द्र सुब्बा, रूफस सुब्बा, बिशाल राई आदिले भारतीय जनता पार्टीलाई समर्थन जनाउँदै आजदेखि आधिकारिक रुपमा भाजपा पार्टीमा सामेल भएका छन्। गत 2017 सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै 2020 सम्म गोजमुमो पार्टीलाई सङ्कटकालीन स्थितिबाट बाहिर निकाल्न अहम भूमिका निर्वाह गरेका चर्चित युवा नेता संजीव लामा गोजमुमो पार्टी कलकत्ताको शरणमा पुगेको केही समय पछि राजनीतिदेखि निकै समयसम्म टाढामा बसेका थिए भने आजदेखि तिनी आफ्ना साथीहरूसितै भारतीय जनता पार्टी मा सामेल भएका छन्।

आज कालेबुङस्थित भारतीय जनता पार्टीको कार्यालयमा कालेबुङ जिल्ला समितिका सभापति कल्याण देवानको प्रमुख उपस्थितिमा भाजपा केन्द्रीय प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्टको हातबाट भाजपाको झण्डा ग्रहण गरेर तिनीहरूले औपचारिक रूपमा दलमा सामेल भएको घोषणा गरे। आजको कार्यक्रममा भाजपा अध्यक्ष कल्याण देवान लगायत उपसभापति बिनोद मोक्तान, जिल्ला सचिव सञ्जय विष्ट, भाजपा नेता देशभक्त सुब्बा, कुमार राई तथा अन्य सदस्यहरूको विशेष उपस्थिति रहेको थियो।
