सिलगढी: दार्जिलिङका सांसद राजु बिष्टले आज तराईका विभिन्न चियाबारीहरुको परिभ्रमण गर्दै श्रमिकहरू अनि साधरण मानिसहरूसँग भेट गरेर भलाकुसारी गरे। सांसद बिष्टले तराईको अर्ड, त्रिराना, मारापुर, बेलगाछी, मञ्जा, एमएम तराई, जबडा, हात्तीघिसा आदि चियाबारीहरुको भ्रमण गर्दै श्रमिकहरूलाई बंगालमा भाजपा सरकार आएपछि चियाबारीहरुको काया पलट हुने दावी गरे। तिनले 2021 को विधान सभापछि बंगालमा टीएमसी-को कालो नीतिको अन्त हुने ठोकुवा गर्दै त्यसपछि बंगालवासीले न्याय पाउने बताए।
केन्द्र सरकारको जनहितको परियोजनाहरूलाई पश्चिम बंगालमा ममता ब्यानर्जीले लागु हुन नदिएर जनविरोधी कार्य गरेको पनि तिनले बताए। यसै क्रममा सांसद बिष्टको भ्रमण अवधि अन्य राजनैतिक दलका मानिसहरूले आज अर्ड चियाबारीमा कालो झण्डा देखाएर तिनको विरोध जनाए। आजको भ्रमण अवधि अलिपुरद्वारका भाजपा सासंद जोन बारला पनि उपस्थित थिए। तिनले पनि आफुलाई एक सांसदको हैसियतले बंगाल सरकारले काम गर्न नदिएको अभियोग लगाए।