सिलगढी : दार्जिलिङका सांसद राजु विष्टको नेतृत्वमा आगामी पञ्चायत चुनाउलाई लिएर पहाडका विपक्षी पार्टीको गठबन्धन दलका नेतृत्वहरूले आज राज्यपाल सीभी आनन्द बोसलाई सिलगढी सर्किट हाउसमा भेट गरे। यस अवधि सांसद विष्ट अनि टोलीका सदस्यहरूले दार्जिलिङ जिल्ला अन्तर्गत पर्ने पहाडको दुई कालेबुङ र दार्जिलिङ लगायत चोपडा ब्लक र नर्थ दिनाजपुर ब्लकमा सत्तारूढ पार्टीले विपक्षी पार्टीका चुनाउ उम्मेद्वार तथा समर्थकहरूलाई कुटपीट तथा धम्काउने अनि नामाङ्कन फिर्ता लिने समेत बारम्बार चेताउनीहरू दिइरहेकोबारे राज्यपाललाई अवगत गराए। यसको साथै कतिपय खण्ड विकास कार्यालयमा सत्तारूढ दलका नेतृत्वहरूले विपक्षी दलका उम्मेद्वारहरूलाई पञ्चायत चुनाउको निम्ति नामाङ्कन पत्र भर्नमा बाधा दिएको, भाजपाको कार्यालयहरू कतिपय ठाउँमा जलाइदिएको, धेरैवटा क्षेत्रहरूमा हत्या-हिंसा जस्ता घटनाहरू भइरहे तापनि राज्यको प्रशासनिक अधिकारीहरूले यसबारे उचित पदक्षेप नलिएको विषयमा पनि राज्यपाललाई अवगत गराउँदै एउटा ज्ञापन पत्र पनि सुम्पिएको बताइएको छ।
दार्जिलिङको जीटीए क्षेत्र र कालेबुङ जिल्लामा 2000 सालपछि यसपल्ट ग्रामीण क्षेत्रहरूको विकासको निम्ति पञ्चायत चुनाउ हुने भए तापनि सत्तारूढ पार्टी अनि तिनका समर्थक दलको दबाउले गर्दा मानिसहरूले निर्भिक भएर चुनाउमा अंश ग्रहण गर्न नसकिरहेको जानकारी गराउँदै चाँडोभन्दा चाँडो यी सबै ग्रामीण क्षेत्रहरूमा केन्द्रीय सशस्त्र बलका जवानहरूलाई तैनाथ गरेर चुनाउ निर्भिक अनि निष्पक्ष गराउनुपर्ने राज्यपाल समक्ष माग गरेको छ। प्रतिनिधि टोलीहरूको कुरा सुनेपछि राज्यपाल सीभी आनन्द बोसले दार्जिलिङ र कालेबुङ जिल्लामा पनि भय रहित निष्पक्ष तथा शान्तिपूर्ण ढङ्गमा पञ्चायत चुनाउ सम्पन्न गराउने आश्वासन दिँदै आफू स्वयम्ले सक्दो यी क्षेत्रहरूमा गएर चुनाउ अगावै भ्रमण गर्ने बताएका छन्। यसैगरी, पञ्चायत चुनाउ समाप्त भएपछि राज्यको कतिपय ठाउँहरूमा गतपल्टको समय हत्या तथा हिंसा उत्पन्न भएकोले गर्दा उक्त विषयलाई ध्यानमा राख्दै दार्जिलिङका सांसद राजु विष्टले गठबन्धन दलको तर्फबाट पञ्चायत चुनाउ समाप्त भएपछि पनि लगभग 6 हप्तासम्म केन्द्रीय सशस्त्र बललाई तैनाथ गरिनुपर्ने माग गरेका छन्।