सिलगढी : राज्यमा कोरोना संक्रमणको बढ्दो संख्यालाई ध्यानमा राखेर राज्य सरकारले गत 3 जनवरीदेखि कोरोना सम्बन्धि केही प्रतिबन्ध लागू गर्नको साथै केही कठोर नियमहरू पनि जारी गरेको छ। राज्य सरकारद्वारा जारी निर्देश अनुसार राज्यका सबै स्कुल, कलेज, जिम तथा म्युजियमहरू बन्द गरिएको छ भने उक्त निर्देशहरू पालन गराउनको लागि पुलिसले लगातार अभियान चलाइरहेको छ। तर सिलगढीमा सरकारी निर्देशिकालाई अवहेलना गरेर जिम खोलिएको थाहा पाएपछि सिलगढी थाना तथा पानीट्याङ्की आउटपोस्ट पुलिसले आज बिहान अभियान चलाएर सिलगढीको सेभोक रोडस्थित एउटा जिम सेन्टर बन्द गरिदिनको साथै सरकारी नियम उल्लङ्घन गरेको आरोपमा 7 जना व्यक्तिलाई हिरासतमा लिएको छ। पुलिसले ती व्यक्तिहरूविरुद्ध डिजास्टर म्यानेजमेन्ट एक्ट अन्तर्गत मामिला दर्ता गरेर कार्वाही शुरू गरेको बताइएको छ।