सरकारी योजना र विकास बोर्डको आँखामा नपरेको सिंगेल कफीबारी निवासी अन्जित छेत्रीको घर

खरसाङ : गरीब जनताको विकासको लागि सरकारले विभिन्न योजना तथा जात गोष्ठीको विकास बोर्डहरु समेत गठन गरिदिएको छ। यसको साथै घरविहिन गरीब जनताको घर बनियोस् भनेर सरकारले आवास योजना समेत सञ्चालन गरिरहेको छ। तथापि दार्जिलिङ पहाडका कतिपय गरिब मानिसहरू हालसम्म पनि ती बोर्डहरूको आँखा पर्न नसकेर अहिले पनि झोपड़ीमा नै बस्न पर्ने बाध्य छन्। कतिपय मानिसहरू अहिले पनि आफ्नो पक्का घर नभएकोले माटो र बाँसले बनिएको घरमा नै बस्न पर्ने बाध्यता छ। पहाडमा यस्ता थुप्रै उदाहरणहरू छन्। सरकारले दिएको कयौं योजनाहरू अझसम्म पनि गरिब निमुखाहरू सम्म पुग्न सकेको छैन। तीमध्ये यस्तै एउटा उदाहरण हो खरसाङ महकुमा अन्तर्गत सिंगेल चियाबारीको कफीबारीमा रहेको अन्जित छेत्रीको घर। तिनी अहिले पनि माटो र बाँसले बनिएको घरमा बस्न बाध्य छन्। सिंगेल चियाबारीको स्थायी श्रमिक अन्जित छेत्रीको परिवारमा तीनजना सदस्यहरू भए पनि तिनीहरू माटोको घरमा बस्दै आइरहेका छन्। कतिले तिनलाई घर बनाइदिने फोस्रो आश्वासन समेत दिए। अहिलेसम्म कतिजना स्थानीय नेताहरू आएर घर हेरेर गए, कतिजनाले वास्ता गरेनन्। कतिले घर बनाइदिने वाचासहित कागज पत्रहरू समेत लगे तर पनि अहिलेसम्म बनिएन अन्जित छेत्रीको घर।


बोर्डबाट पनि घर बनाइदिने भनेर 5 वर्ष अघि नै कागज पत्रहरू लगे तर घर बनिनु त टाडाको कुरा अहिलेसम्म त्यसको अत्तो पत्तो नभएको बताउँछन् अन्जित छेत्री। विशेष गरेर वर्षाको मौसममा पानी परेको बेला र हावा हुरीको समय घरको छाना खोज्नु पर्ने अवस्था हुने बताउँछन् तिनी। कफीबारीमा रहेको तिनको यस्तो घरको अवस्था हेर्न सम्बन्धित कोही व्याक्ति नआएको दु:ख पोख्छन् अन्जित छेत्री। सिंगेल चियाबारीको कफीबारीमा रहेको अन्जित छेत्री परिवारमा माईला छोरा हुन्। संगीता छेत्रीको चारजना छोराहरूमध्ये माईला छोरा हुन् अन्जित छेत्री। तिनको घरको अवस्था सबैको भन्दा दयनीय छ। हुन त चारैजना छोराहरुको घर निर्माण गर्नु पर्ने अवस्थामा रहेको छ तर माईला छोरा अन्जित छेत्रीको घर भने अत्यन्तै सोचनीय अवस्थामा रहेकोले सरकारले वा विकास बोर्डले घर निर्माण गरिदिए निक्कै असल हुने बताउँछन् तिनकी आमा संगीता छेत्री। तिनले बताए अनुसार हामी आफै बनाउने अवस्थामा छैनौं कारण खानु त हम्मे हम्मे हुन्छ अनि पानी झरी वा हावा आएको समय घर उडाउने डर साथै अन्य धेरै असुविधा हुने गर्दछ। अन्जित छेत्रीको परिवारको लागि सरकारले घर निर्माण गरिदिएर खुशी दिन सक्छन्। स्थानीय नेताहरू र सरकारी पक्षले अन्जित छेत्रीको घरको अवस्था देखेर केही सहयोग गरिदियोस् वा आवास योजनाबाट झट्टै घर निर्माण गरिदियोस् भन्ने स्थानीय गाउँलेहरूको पनि चाहना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *