स्कुलबाट घर फर्किरहेको समय ट्रकको धक्का लागेर 4 वर्षीय शिशु र आमाको मृत्यु

सिलगढी : स्कुल छुट्टी भएपछि आमासित घर फर्किरहेको समय ट्रकको धक्का लागेर आमा-छोरीको मृत्यु भएको छ। उक्त घटना आज दिउँसो सिलगढीको एनजेपी रेल अस्पताल मोड नजिक घटेको हो। मृतकहरूमा आमा बिमला राय र 4 वर्षीय छोरी सरस्वती राय सामेल छन्। उक्त शिशु सूर्यसेन कोलनी इलाकाको सारदा शिशुतीर्थ स्कुलमा गत 3 महिना अघि मात्र भर्ना भएकी थिइन्। प्राप्त जानकारी अनुसार आज स्कुल छुट्टी भएपछि आमा-छोरी साइकलमा सवार भएर घर फर्किरहेको समय रेल अस्पताल नजिक एउटा ट्रकले धक्का दिँदा दुवै आमा छोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। दुर्घटनापछि दुवैलाई तत्कालै उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगियो। उक्त घटनापछि इलाकामा व्यापक उत्तेजनाको माहौल देखापर्यो। आक्रोशित बनेका  स्थानीय मानिसहरूले घटनाको विरोध जनाउँदै विक्षोभ प्रदर्शन गरे। तिनीहरूको आरोप अनुसार उक्त सडकमा लापर्वाहीको साथमा ट्रक चलाउने गरे तापनि पुलिसले यस सम्बन्धमा कुनै पदक्षेप ग्रहण गरेको छैन। घटनापछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगेपछि मानिसहरू उत्तेजित बने। घटनाबारे मृतक महिलाको परिवारका सदस्यहरूलाई जानकारी दिएपछि तिनीहरू घटनास्थलमा पुगेका थिए। यसैगरी, एडीसीपी शुभेन्द्र कुमार पनि घटनाको खबर पाएर घटनास्थलमा पुगेका थिए। पुलिसले उक्त ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ भने चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको छ। पुलिसले घटनाको जाँच शुरू गर्नको साथै आरोपी चालकलाई पनि पक्राउ गर्ने आश्वासन दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *