खरसाङ: साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेको शंकर निवासस्थित ब्रह्म मन्दिर प्राथमिक पाठशाला भवनमा यहाँको दिव्य ज्योति संघको सहयोगमा 30औँ नेपाली भाषा मान्यता दिवस समारोहको आयोजना गरियो। उक्त समारोहको अध्यक्षता साहित्य कला संस्थानका सभापति रञ्जनकुमार रसाइलीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा तीनधारेकै भूमिपुत्र, वरिष्ठ कवि एवम् अवकाशप्राप्त पुलिस अधिकारी विचन्द्र प्रधान उपस्थित थिए। गीतकार सुकुमार बराईलीद्वारा सञ्चालित कार्यक्रममा तीनधारेका कविहरू क्रमैले मिलन प्रधान, सुवास बान्तावा, सुप्रेम छेत्रीद्वारा कविता, दिपशिखा लामाद्वारा लेख अनि पूर्व खण्ड युवा अधिकारी चन्दु भुसालद्वारा गीत पठन गरियो।

यसै कार्यक्रममा वरिष्ठ कवि विचन्द्रको दुईवटा कृति ‘अनन्ता अनन्ता‘ र ‘नील सागरको किनाराका‘ एक एक प्रति सबैलाई उपहारस्वरूप प्रदान गरियो। कार्यक्रममा प्रमुख अतिथि कवि विचन्द्रले तीनधारेमा आफ्ना पुराना दिनहरूको सम्झना गर्दै एकल कविता पठन पनि गरेका थिए। कार्यक्रममा तीनधारे क्षेत्रका साहित्य, कला, संगीत र शैक्षिक क्षेत्रका वरिष्ठ व्यक्तिहरू विशेष रूपमा उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै साहित्य कला संस्थान् तीनधारेको मूल सचिव सन्तोष लामाले आजको 30औँ भाषा मान्यता दिवस समारोह विषयमा विस्तृत रूपमा जानकारी दिए।
