खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको लंकु निवासी कवि कथाकार निरज थापालाई सृजन साहित्य सम्मान् 2021 द्वारा सम्मान जनाइयो। तिनलाई उक्त सम्मान विलाटी चियाबारी, चोपडा, इस्लामपुरमा प्रदान गरिएको छ। सृजन साहित्य आसार, चोपडा, इस्लामपुर, उत्तर दिनाजपुर, पश्चिम बङ्गालमा आयोजित सृजन साहित्य सम्मान् 2021-मा आमन्त्रित कविहरू विभिन्न भाषीहरू जस्तै बिहार, भागलपुर, कुचबिहार, अलिपुरद्वार, जलपाइगढी, धुपगुडी, फालाकाटा, सिलगढी, इस्लामपुर, नक्सलबारी आदि स्थानबाट रहेका थिए भने दार्जिलिङबाट खरसाङका स्रष्टा निरज थापा पनि उपस्थित थिए। कार्यक्रममा कलाकार, कविहरूलाई सम्मान जनाउने क्रममा पाँचजना कवि कलाकारलाई सृजन साहित्य सम्मान् जनाइयो। यसैगरी, विशेष सम्मान तान्या सरकारलाई जनाएको थियो। तिनले 2020-मा मिसेस इन्डिया प्रतियोगितामा चौथो स्थान ओगटेकी थिइन्। पुरस्कृत व्यक्तिहरूमा बिहार पुर्नियाका कवि, समाजसेवी अजय सन्डाल, बाँकुडाका कवि मनोज पायी, दार्जिलिङका कवि, कथाकार निरज थापा, इस्लामपुरका कवि कथाकार डा. बिनय भुषण बेरा, सर्पकन्या नवनिता उपाध्याय आदि रहेका थिए। कार्यक्रममा पहिलो सत्र सम्मान कार्यक्रम र दोस्रो सत्रको कार्यक्रममा कविता वाचन रहेको थियो जसमा कवि निरज थापाले दुईवटा कविताहरू प्रस्तुत गरे।
