श्री तुलसीप्रसाद अधिकारी अभिनन्दन ग्रन्थ र डीएस दर्नालको चिया श्रमिकको आत्मकथा पुस्तकको खरसाङमा लोकार्पण

खरसाङ : खरसाङ भेकको आध्यात्मिक, समाजिक, राजनैतिक, खेलकुद साथै सङ्गीतको क्षेत्रमा समाजमा दिएको योगदानको कदर गर्दै खरसाङको विष्णुमाया शर्मा फाउण्डेशनद्वारा तुलसीप्रसाद अधिकारीलाई नागरिक अभिनन्दन जनाउन ‘श्री तुलसीप्रसाद अधिकारी अभिनन्दन ग्रन्थ’ पुस्तक प्रकाशन गरेको छ। उक्त अभिनन्दन ग्रन्थका लेखक डीएस दर्नालको प्रमुख आतिथ्यमा खरसाङको टाउन कमिटी हलमा विधिवत रूपमा विशिष्ट अतिथिहरुको बाहुलीबाट विमोचन गरियो। यस अभिनन्दन ग्रन्थमा पण्डित तुलसीप्रसाद अधिकारीको जीवनका आरोह-अवरोहका साथमा सङ्घर्षहरूलाई समेटिएको छ। विष्णुमाया शर्मा फाउण्डेशनका प्रमुख चन्द्र शर्माको सक्रियतामा यो ग्रन्थ प्रकाशित भएको छ। प० तुलसीप्रसाद अधिकारी स्व० सुवास घिसिङले 5 अप्रेल 1980 मा स्थापना गरेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का एकजना संस्थापक सदस्य थिए। गोर्खाल्याण्ड आन्दोलनको समय उनी पक्रा पनि परेका थिए। यसबाहेक उनी विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन्। आध्यात्मिक साथै धार्मिक क्षेत्राबाट उनी मानिसहरूलाई मार्गदर्शन दिने गर्छन्। समाजमा कुसंस्कार र कुरितीबारेमा उनी सबैलाई सचेत गराउँछन् । 80 वर्ष पुगिसके पनि प० तुलसीप्रसाद अधिकारी अझ पनि जोशिला र फूर्तिला छन्। गोर्खा जन पुस्ताकालय खरसाङका अध्यक्ष एवम् नाटककार पूर्ण गुरुङ ‘निरुपम’को अध्यक्षतामा सम्पन्न भएको अभिनन्दन ग्रन्थ विमोचन समारोहका मुख्य अतिथि डीएस दर्नालको पुस्तक ‘चिया श्रमिकको आत्मकथा’ पनि यसै समारोहमा विमोचन गरियो। चियाबगानका पूर्व प्रबन्धक डीएस दर्नालले चियाबागनमा आफूले देखेका भोगेका विषयहरुलाई यस पुस्तकमा समेटेका छन्। अञ्जना भण्डारीद्वारा उद्घोषणा गरिएको कार्यक्रममा गोर्खा संस्कृतिक संस्थानकी अध्यक्ष आशा मुखिया लामाले प० तुलसी अधिकारीको संक्षिप्त परिचय अनि सङ्गीतकार सुकुमार बराइलीले डीएस दर्नाल बारेमा संक्षिप्त परिचय प्रस्तुत गरेका थिए। स्वागत भाषणमा विष्णुमाया शर्मा फ़ाउण्डेशनका सचिव पुरुषोत्तम अधिकारीले यी दुईवटा पुस्तक प्रकाशनमा ल्याउनमा सफल बनेर नेपाली साहित्यको क्षेत्रमा विशेष उपलब्धी रहेको स्वागत भाषणमा बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *