नाम्ची: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नाम्चीस्थित कर्फेक्टारको क्षमता निर्माण राज्य संस्थानमा कोभिड केयर सेन्टरको उद्घाटन गरे। यस अवसरमा राज्यका स्वास्थ्य एवम् परिवार कल्याण विभागीय मन्त्री डा. एमके शर्मा, क्षेत्रिय विधायक सुनिता गजमेर, स्वास्थ्य एवम् परिवार कल्याण विभागीय आयुक्त एवम् सचिव डी आनन्दन, प्रमुख अभियन्ता एलएम शर्मा, नाम्चीका जिल्लापाल एम भरानी कुमार, नाम्ची जिल्लाका प्रमुख चिकित्सा अधिकारी डाक्टर डीसी शर्मा, उप-चिकित्सा अधीक्षक डाक्टर एसएन अधिकारी लगायत अन्य अधिकारीहरू अनि क्षमता निर्माणबाट विद्यार्थीहरूको उपस्थिति रहेको थियो। मुख्यमन्त्री प्रेमसिंह तामाङले कर्फेक्टारको क्षमता निर्माण संस्थानमा खुला ठाउँ साथै स्वास्थ्य सेवाको अवसर रहेको उल्लेख गर्दै सामुदायिक स्वास्थ्य केन्द्रलाई यहाँ सार्ने प्रस्ताव दिए। यस केन्द्रमा चाँड़ै डायलेसिस केन्द्र सञ्चालनमा ल्याइने मुख्यमन्त्रीले अवगत गराए। 17 वटा आईसीयू पलङ, 19 वटा हाई केयर युनिट बेड यस केन्द्रका मुख्य अवयवहरू हुन्। यसवाहेक, यहाँ 25 वटा पलङ मनिटरयुक्त छन् भने 13 वटा भेण्टिलेटर, एउटा डिजिटल एक्स-रे मशीन, 150 वटा डी टाइपको अक्सिजन सिलिण्डर, 330 लिटर प्रतिमिनट अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लाण्ट, एउटा डिफाब्रिलेटर, एउटा ईसीजी, एउटा आर्टियल ब्लड ग्यास मशीन उपलब्ध रहेको छ।
