दार्जिलिङ : सिक्किमको एसोसिएशन अफ् ओल्ड सेटलर्सले भारत भरिका गोर्खा अघि माफी माग्नु पर्ने क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले माग गरेको छ। क्रामाकपा प्रवक्ता अरूण घतानीले यस्तो माग गर्दै सिक्किमे नेपालीहरूमाथि विदेशीको लाञ्छना लगाउने कार्य ओल्ड सेटलर्सले गरेको हो भनि बताएका छन्। सन् 1975-मा सिक्किम पूर्णरूपले भारतमा विलय भएपछि सम्पूर्ण सिक्किमे भोटिया, लेप्चा, नेपालीसँगै सिक्किमभित्रका कीरा फटेङ्ग्राहरू पनि भारतीय भएका हुन्। तर अझैसम्म पनि नेपालीहरूमाथि किन शङ्काको दृष्टि राख्ने गरिएको छ, भारत सरकारले पनि आफ्नो मानसिकतामा परिवर्तन ल्याउन आवश्यक रहेको घतानीले बताएका छन्। यसैले भारत स्वतन्त्र हुनअघिदेखि हालसम्म भारतीय गोर्खाहरूमाथि लागिरहेको विदेशीको लाञ्छना हटाउन अलग राज्य गोर्खाल्याण्डको गठन हुनैपर्छ भन्ने पनि क्रामाकपाको स्पष्ट अड़ान रहेको तिनले बताएका छन्। आयकरमा छूट दिने विषय लिएर सिक्किमका पुराना व्यापारीहरूले वर्ष 2013-मा देशको सर्वोच्च न्यायालयमा एउटा याचिका दर्ता गरेका थिए, उनीहरूले दर्ता गरेको याचिकामा नै सिक्किमे नेपालीहरूलाई विदेशी मूलको हो भन्ने कुरा उल्लेख गरिएको छ भन्ने घतानीले बताएका छन्। यसको आधारमा नै सर्वोच्च न्यायालयले आफ्नो निर्णयमा सिक्किमका नेपालीहरूलाई विदेशी मूलका भन्ने बताएको थियो भन्ने घतानीको भनाई रहेको छ। यसको लागि सबैभन्दा पहिला ओल्ड सेटलर्सले सम्पूर्ण भारतीय गोर्खाअघि माफ माग्नुपर्छ अनि पुरानो याचिकामा संशोधन गर्न नयाँ संशोधित याचिका दर्ता गर्नुपर्छ भन्ने उनले माग गरेका छन्। सिक्किममा आज 80 प्रतिशतभन्दा अधिक नेपालीभाषी गोर्खाहरूको बसोबासो गर्छन् अनि हालसम्म 5 जना नेपाली भाषी गोर्खा नै मुख्यमन्त्री पनि बनिसकेका छन्। तरै पनि सिक्किमे नेपालीभाषी गोर्खाहरूमाथि शङ्काको दृष्टि राख्न कार्य जारी छ। यसप्रकारको शङ्काको दृष्टिमा परिवर्तन ल्याउन अत्यावश्यक रहेको क्रामाकपाका प्रवक्ता अरुण घतानीले आज दार्जिलिङमा पत्रकार सम्मेलन गरेर बताए।