सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आज विमान मार्फत् सिलगढी आइपुगिन्। विमान मार्फत् बाघडुग्रा हवाई अड्डा आइपुगेपछि तिनी सडक मार्ग भएर सिलगढीको नौकाघाट हुँदै सोझै उत्तरकन्या पुगिन्। मुख्यमन्त्रीले आज उत्तरकन्याको अतिथि निवास कन्याश्रीमा रात बिताउने भएकी छन्। मुख्यमन्त्रीले भोलि जलपाईगढी र अलिपुरद्वार जिल्लाका प्रशासनिक अधिकारीहरूसित एउटा बैठक गर्नेछिन् भने बुधबार दार्जिलिङ, कालेबुङ र कुचबिहारका प्रशासनिक अधिकारीहरूसित एउटा बैठक गर्ने भएको छ। सिलगढीको विभिन्न ठाउँमा आज मुख्यमन्त्रीको आगमनलाई लिएर तिनको स्वागत जनाउन मानिसहरू भेला भएका थिए। यसैगरी, सिलगढीको नौकाघाटमा आइपुगेपछि मुख्यमन्त्री ममता ब्यानर्जीलाई तृणमूल युवा कांग्रेसका नेता तथा कर्मीहरूले ढोल बजाएर भव्य स्वागत गरे। यसको साथै कावाखाली, उत्तरकन्या आदि ठाउँहरूमा पनि तृणमूल कांग्रेसको पक्षबाट मुख्यमन्त्रीलाई भव्य स्वागत जनाइयो।