खरसाङ (निसं): मतिगढामा गोर्खे चेलीको निर्मम हत्याको प्रतिवाद गर्दै आरोपीले फाँसीको सजाय पाउनुपर्छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन नारी शक्तिले खरसाङमा श्रद्धाञ्जलि सभाको आयोजना गऱ्यो। उक्त श्रद्धाञ्जलि सभा खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न भएको थियो। उक्त श्रद्धाञ्जलि सभामा मतिगढामा हत्या भएको गोर्खे चेलीलाई श्रद्धाञ्जलि अर्पण गर्दै तिनको आत्मा शान्तिको कामना गरे भने गोर्खे चेलीको हत्या आरोपीले फाँसीको सजाय पाउनु पर्ने मांग गरिएको छ। यस अवसरमा उपस्थित सबैले बत्ती बालेर श्रद्धाञ्जलि अर्पण गरेका थिए। उक्त श्रद्धाञ्जलि कार्यक्रममा नारी शक्तिको केन्द्रीय अध्यक्षा अनु प्रधान, जीटीएको मातृ एवं शिशु कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधान, नारी शक्ति केन्द्रीय पदाधिकारीहरू उषाकिरण तामाङ र जैतुन निशा खातुन लगायत अन्यहरू उपस्थित थिए। उक्त श्रद्धाञ्जलि कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै नारी शक्ति केन्द्रीय अध्यक्षा एवं खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु प्रधान र जीटीएको मातृ एवं शिशु कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधानले मतिगढाको घटनामा गोर्खे चेलीको निर्मम हत्या गर्ने हत्या आरोपीले झट्टै सजाय पाउनु पर्ने र आरोपीले फाँसीको सजाय पाउनु पर्ने मांग गरेकी छन्।