सिलगढी, 9 दिसम्बर (निसं): ग्रेटर सिलगढी होटलियर्स वेलफेयर एसोसिएशनले सिलगढीका होटेलमा बंगलादेशी पर्यटकहरूको प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। एसोसिएशनले अनिश्चितकालका लागि बंगलादेशी पर्यटकहरूलाई होटेलमा प्रवेश गर्नमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। प्राप्त जानकारी अनुसार, भारतीय राष्ट्रिय झण्डाको अपमान र बंगलादेशमा हिन्दूहरूमाथि भइरहेको अत्याचारको विरोधमा सिलगढीका होटेलहरूमा बंगलादेशी पर्यटकहरूलाई प्रवेश गर्न निषेध गरिएको हो। यस सन्दर्भमा ग्रेटर सिलगढी होटलियर्स वेलफेयर एसोसिएशनले एउटा बैठकको पनि आयोजना गरेको थियो। त्यसपछि आइतबार एसोसिएशनका सबै सदस्यहरूबीच मतदान भएको थियो। लगभग 97 प्रतिशत भोटको साथमा बंगलादेशी पर्यटकहरूलाई होटेलमा प्रवेशको अनुमति दिइने छैन भन्ने निर्णय लिएको हो। यस सम्बन्धमा एसोसिएशनका संयुक्त सचिव उज्ज्वल घोषले भने, मालदा पछि हामीले पनि यो निर्णय लिएका हौं। बंगलादेशमा भारतीय झण्डाको अपमान, हिन्दूहरूमाथि अत्याचार र नेताहरूको टिप्पणीहरूको विरोधमा एसोसिएशनले यो निर्णय लिएको हो। हाम्रो अस्थायी आर्थिक नोक्सान भए तापनि यो निर्णय राष्ट्रको हितमा छ।