सिलगढी (निसं): सिलगढीको ईस्टर्न बाईपासमा मंगलवार राति एउटा लरी अनियन्त्रित भएर बिजलीको खम्बामा ठोक्कियो। उक्त दुर्घटना पछि यहाँको सम्पूर्ण इलाकामा बिजुली बत्तीको सर्वराह ठप्प बन्न पुगेको छ। जानकारी अनुसार उक्त घटना मंगलवार राति आशीघरबाट जलेश्वरी जाने सडक कानकटा मोड़ नजिक भएको हो। घटना पछि लरीको चालकले घटनास्थलबाट सुइँकुच्चा ठोके। अर्कोतिर, उक्त घटनाले इलाकाको केही घरहरूमा टीभी अनि बिजुलीको मीटर खराब भएको जानकारी प्राप्त भएको छ। घटना पछि आशीघर आउट पोस्ट पुलिस अनि बिजली विभागका कर्मचारीहरूलाई सूचना दिइयो। सूचना पाएर बिजुली विभाग अनि पुलिस घटनास्थलमा आइपुगे। यसपछि क्रेनको सहयोगमा बिजुलीको पोललाई हटाएर लरीलाई त्यहाँबाट निकालिइयो।
यस विषयमा स्थानीय पञ्चायत मिठू सरकारले भने, स्ट्रीट लाइट नभएकोले गर्दा नै बारम्बार यस प्रकारको दुर्घटना भइरहेको छ। यो मामिलाको सूचना इलाकाको विधायकलाई दिनेछौं। अर्कोतिर, आशीघर आउटपोस्ट पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।