सिलगढी, 16 नोभेम्बर (निसं): एनजेपी थाना पुलिसले सिलगढीमा भएको छिनतई घटनाका मुख्य आरोपीलाई पक्राउ गरेको छ। आरोपीको नाम विश्वजीत चौधरी उर्फ बिटला रहेको छ। प्राप्त जानकारी अनुसार, बिहीबार साँझ ठाकुरनगरकी सरस्वती मण्डल नामक वृद्धा आफ्नो घरबाट कामको सिलसिलामा बाहिर जाँदै थिइन्। त्यही समयमा जाबराभिटा क्षेत्रमा बाइकमा सवार चार जना बदमास अचानक आइपुगे अनि वृद्धाको मुख थुने। त्यसपछि ती बदमासहरूले वृद्धाको कानको, गलाको सुनको चेन र औठी निकालेर चम्पट कसे। यस घटनाबारे पछि पुलिसलाई अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा एनजेपी थाना पुलिसले सादा पोशाकमा जाँच शुरू गरेर विश्वजीत चौधरी उर्फ बिटला नामक आरोपीलाई अम्बिका नगरबाट पक्राउ गरेको छ।
पुलिस सूत्र अनुसार, आरोपी विभिन्न आपराधिक गतिविधिहरूसँग संलग्न रहेको छ भने तिनी विरुद्ध विभिन्न थानामा केही मुद्दा दर्ता गरिएको छ। आज आरोपीलाई जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको विस्तृत जाँच गरिरहेको छ।