सिलगढीमा आफ्नै दोस्रो स्वास्नीको हत्या गर्ने तृणमूल नेता पक्राउ

सिलगढी, 18 मार्च (निसं): सिलगढी शहरमा एउटा सनसनीपूर्ण हत्याको मामिला सार्वजनिक भएको छ, जहाँ आफ्नै स्वास्नीको हत्या गरेको आरोपमा लोग्ने पक्रा परेका छन्। यो घटना सिलगढी मतिगढा थाना अन्तर्गत तुम्बा जोत क्षेत्रमा भएको हो। राजेश कुमार गुप्ता सोनी नामक व्यक्तिले आफ्नो पहिलो पत्नी रेखा गुप्ता र उनका दुई छोरासँग मिलेर आफ्नो दोस्रो स्वास्नी रीता साहाको हत्या गरेको आरोप रहेको छ।
जानकारी अनुसार, राजेशको पहिलो विवाह रेखा गुप्तासँग भएको थियो र उनका दुई सन्तान पनि छन्, तर 12 वर्ष पहिला उनले रीता साहासँग दोस्रो विवाह गरेका थिए। यसपछि नै पारिवारिक विवाद सुरु भएको थियो। पहिलो स्वास्नी रेखा गुप्ता तुम्बा जोत क्षेत्रमा बस्दै आइरहेका छन् भने दोस्रो स्वास्नी रीता साहा राणा नगरमा बस्थिन्। हरेक रात राजेश आफ्नो दोस्रो पत्नीको घर जान्थे, तर हिजो राति उनी घर फर्केनन्। यसपछि आशंका लागेर खोजी गर्दै रीता साहा, रेखा गुप्ताको घरमा पुगिन्, यसपछि विवाद शुरु भएको थियो। त्यहाँ राजेश कुमार गुप्ता सोनी, उनको पहिलो पत्नी रेखा गुप्ता र दुई छोराले रीता साहालाई धारिलो हतियारले आक्रमण गर्दा तिनी गम्भीर घाइते भइन्। यसपछि रीता साहालाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल लगिएको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे।
त्यसपछि राजेश कुमार गुप्ताले रीता साहाका माइता घरका सदस्यलाई उनको मृत्यु भएको सूचना दिए। घटनाको खबर सुनेर उनीहरू घटनास्थलमा पुगे र सम्पूर्ण घटनाको जानकारी पाएपछि मतिगढा थानामा आरोपी राजेश, रेखा र उनका छोराहरू विरुद्ध अभियोग दर्ता गरे। पुलिसले अभियोगको आधारमा जाँच शुरू गर्दै राजेश कुमार गुप्ता सोनीलाई पक्राउ गरेको छ।
जानकारी अनुसार, आरोपी राजेश स्थानीय तृणमूल काङ्ग्रेसका नेता हुन्। हाल पुलिस अन्य आरोपीहरूको खोजीमा जुटेको छ। पक्रा परेका आरोपी राजेश कुमार गुप्ता सोनीलाई आज सिलगढी अदालतमा पेश गऱ्यो। अर्कोतिर, मृतक रीता साहाको शवलाई पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *